टी–२० अन्तर्राष्ट्रियमा रिजवानले बनाए अर्को किर्तिमान
काठमाडौंँ । न्युजिल्याण्डसँगको पाँचौं टी–२० खेलमा पाकिस्तानले हार बेहोरेको छ । खेलमा पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले ९८ रनको इनिङस खेले । शतक बनाउनबाट २ रनले पछाडि परेका रिजवानले अचम्मको कीर्तिमान बनाएका छन । उनी विकेटकिपररब्याट्सम्यानका रुपमा टी–२० मा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । यसअघि यो किर्तिमान जोस बटलरको नाममा रहेको थियो । इंग्ल्याण्डका बटलरले विकेटकिपर ब्याट्सम्यानका रुपमा टी–२० अन्तर्राष्ट्रियको ८६ इनिङ्समा २ हजार ६०५ रन बनाएका छन् ।
टी–२० अन्तर्राष्ट्रियमा अब मोहम्मद रिजवानको नाममा ६९ इनिङ्समा कुल २ हजार ६५६ रन दर्ता भएको छ । टी–२० अन्तर्राष्ट्रियमा उनको यो २५ औं अर्धशतक हो । टी–२० अन्तर्राष्ट्रियमा रिजवानले ८५ इनिङ्समा कुल २ हजार ७ सय ९७ रन बनाएका छन् । तर विकेटकिपर ब्याट्सम्यानको हैसियतमा उनले अहिलेसम्म टी–२० मा कुल ६९ इनिङ खेलिसकेका छन् । रिजवानले टी–२० इन्टरनेशनलमा पनि शतक बनाएका छन् ।
दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान क्विन्टन डी ककले टी-२० इन्टरनेशनलमा विकेटकिपरका रुपमा २ हजार २ सय ६४ रन बनाएका छन् । अफगानिस्तानका मोहम्मद शहजादले पनि विकेटकिपरका रुपमा १ हजार ९ सय ९७ रन बनाएका छन् । योसँगै भारतका धोनीले टी–२० अन्तर्राष्ट्रियमा विकेटकिपर ब्याट्सम्यानका रूपमा कुल १ हजार ६ सय १७ रन बनाएका छन् ।
रिजवान सन् २०२१ देखि हालसम्म टी–२० क्रिकेटको उत्कृष्ट लयमा छन् । सन् २०२१ देखि हालसम्म रिजवानले १ सय १५ टी–२० इनिङ्समा कुल ४ हजार ९ सय १४ रन बनाएका छन् । यस मामिलामा उनी पाकिस्तानी कप्तान बाबर आजमभन्दा पनि अगाडि रहेका छन् । यो अवधिमा बाबरले टी–२० मा अहिलेसम्म कुल ९३ इनिङ्स खेलेका छन् र ३ हजार ४९० रन बनाएका छन् । यसका साथै रिजवान सन् २०२३ मा १ हजार टी–२० रन बनाउने पहिलो ब्याट्सम्यान पनि बनेका छन् ।
खेलको कुरा गर्दा पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको थियो भने न्युजिल्यान्डले १९.२ ओभरमा ४ विकेट गुमाएर १९४ रन बनाएर खेल ६ विकेटले जितेको थियो । किवी टोलीका लागि मार्क च्यापम्यानले धमाकेदार प्रदर्शन गर्दै ५७ बलमा १०४ रनको अविजित इनिङ खेल्दै न्युजिल्यान्डलाई जित दिलाए । च्यापम्यानले आफ्नो पारीमा ४ छक्का र ११ चौका प्रहार गरेका थिए । न्युजिल्याण्डले ५ खेलको टी–२० सिरिज २–२ को बराबरीमा रोकेको छ । वर्षाका कारण सिरिजको एउटा खेल हुन सकेन ।

टिप्पणी लेख्नुहोस्