लेख विवरण

टी २० विश्वकप : अफगानिस्तानलाई पराजित गरेपछि अष्ट्रेलियाको सेमिफाइनल पुग्ने सम्भावना जीवितै

टी २० विश्वकप : अफगानिस्तानलाई पराजित गरेपछि अष्ट्रेलियाको सेमिफाइनल पुग्ने सम्भावना जीवितै

काठमाडौं । टी–२० विश्वकप २०२२ को ३८ औँ खेलमा अस्ट्रेलियाले अफगानिस्तालाई पराजित गरेको छ । एडिलेडको ओभल मैदानमा भएको खेल अष्ट्रेलियाले राशिद खानको बलियो ब्याटिङका बाबजुद अफगानिस्तानलाई ४ रनले पराजित गर्दै जित्यो । जितसँगै अष्ट्रेलिया समूह १ को अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । तालिकामा अष्ट्रेलिया र न्यूजिल्याण्ड ७–७ अंकका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

अफगानिस्तानलाई अन्तिम ओभरमा २२ रन चाहिएको अवस्थामा क्रिजमा रसिद खान र दरभिस रसूल रहेका थिए। बलिङमा अष्ट्रेलियाका मार्कस स्टोइनिस आए । उनले पहिलो बल वाइड फाले र नन स्ट्राइकरमा उभिएका रसिद स्ट्राइकमा आउन दौडिए । राशिद क्रिजमा पुग्न सफल भए तर उनका साथी दारविश नन स्ट्राइकर इन्डमा रनआउट हुन पुगे।

त्यसपछि अफगानिस्तानलाई ६ बलमा २१ रनको आवश्यकता थियो । तर स्टोइनिस अर्को बल डट फाले । उक्त बलमा राशिदले सट खेल्न सफल भए, तर रन लिन सकेनन् । लगतै अर्को बलमा राशिदले चौका प्रहार गर्दै अफगानिस्तानको आशा जगाए । अब टोलीलाई जितका लागि ४ बलमा १७ रन आवश्यक थियो । तर त्यसपछिको बल स्टोइनिस डट फाले । लगतै अर्को बलमा राशिदले छक्का प्रहार गरे । अब अफगानिस्तानलाई जितका लागि २ बलमा ११ रन आवश्यक थियो । तर राशिदले दुई बलमा मात्र ६ रन मात्र बनाउन सके र अफगानिस्तान खेल हार्यो । राशिदले २३ बलमा चार छक्का र तीन चौकाको मद्दतले ४८ रनको अविजित इनिङ्स खेल्दै टोलीलाई १६४ रनको स्कोरमा पुर्याए ।

जितसँगै अष्ट्रेलियाले सेमिफाइनल पुग्ने आशा जीवितै राखेको छ । भोलि हुने इंग्ल्याण्ड र श्रीलंकाबीचको खेलमा यदि इंग्ल्याण्डले जित निकाल्यो भने उसको पनि ७ अंक हुनेछ । तर राम्रो नेट रन रेटका कारण अष्ट्रेलिया र न्यूजिल्याण्डसँग सेमिफाइनलमा पुग्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा अष्ट्रेलियाले भोलीको खेल श्रीलंकाले जितोस् भन्ने चाहन्छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले अफगानिस्तानलाई १६९ रनको लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानको सुरुवात राम्रो रहेन र टोलीले १५ रनको स्कोरमा पहिलो विकेट गुमायो । तेस्रो ओभरको तेस्रो बलमा जोस हेजलवुडले उस्मान घानीलाई प्याट कमिन्सको हातबाट क्याच आउट गराए । उस्मानले सात बलमा मात्र दुई रन बनाए ।

त्यसपछि ४० रनको स्कोरमा अफगानिस्तानले दोस्रो विकेट गुमायो । रहमानउल्लाह गुरबाजलाई केन रिचर्डसनले आउट गरे । उनलाई छैटौं ओभरको तेस्रो बलमा डेभिड वार्नरले क्याच आउट गरेका थिए । गुरबाजले १७ बलमा ३० रन बनाए । यस क्रममा उनले दुई चौका र दुई छक्का प्रहार गरे । त्यसपछि अफगानिस्तानले बुद्धिमानी ब्याटिङ गर्न थाल्यो । इब्राहिम जाद्रान र गुलबदिन नाइबले पारीलाई बिस्तारै अगाडि बढाए । दुवैले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे । तर १४ औं ओभरमा अफगानिस्तानको ब्याटिङ खस्कियो ।

टोलीले १४ औं ओभरमा तीन विकेट गुमायो । गुलबदिन नाइब ओभरको पहिलो बलमै रनआउट भए । उनले २३ बलमा ३९ रन बनाए । यस क्रममा उनले तीन चौका र दुई छक्का प्रहार गरे । त्यसपछिको बलमा एडम जाम्पाले इब्राहिम जाद्रानलाई मिचेल मार्सको हातमा क्याच आउट गराए । जाद्रानले ३३ बलमा २६ रन बनाए । उनले दुई चौका प्रहार गरे । सोही ओभरको चौथो बलमा अफगानिस्तानलाई पाँचौं झटका लाग्यो । नजिबुल्लाह जाद्रानलाई जाम्पाले ग्लेन म्याक्सवेलको हातमा क्याच आउट गरे। नजिबुल्लाहले दुई बलमा खाता खोल्न सकेनन् । अफगानिस्तानको टोलीलाई छैटौं झटका मोहम्मद नाबीको रुपमा लाग्यो । कप्तान नाबीले दुई बलमा एक रन बनाउदै हेजलवुडको बलमा वार्नरको हातबाट क्याच आउट भए ।

यसअघि टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले ग्लेन म्याक्सवेलको अर्धशतकको मद्दतले २० ओभरमा ८ विकेट गुमाएर १६८ रन बनाएको थियो । म्याक्सवेलले ३२ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५४ रन बनाए । उनी बाहेक मिचेल मार्सले ३० बलमा ४५ रन बनाएका थिए । अफगानिस्तानका नवीन उल हकले तीन, फजलहक फारुकीले दुई, राशिद खान र मुजिब उर रहमानले एक एक विकेट लिए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.