टी २० विश्वकप : आयरल्याण्डलाई ३५ रनले हराउँदै न्यूजिल्याण्ड सेमिफाइनल नजिक
काठमाडौं । टी २० विश्वकप अन्तर्गत आयरल्याण्ड विरुद्धको खेलमा न्युजिल्याण्ड ३५ रनले विजयी भएको छ । न्युजिल्यान्डले दिएको १८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड टोली २० ओभरमा ९ विकेट गुमाएर १५० रन मात्र बनायो । न्युजिल्याण्डका लागि टिम साउथी, मिचेल सान्टनर र ईश सोधीले २–२ विकेट लिए भने लौकी फर्गुसनले ३ विकेट लिए ।
आयरल्यान्डका ब्याट्सम्यानले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । पल स्टर्लिङले ३७ रन बनाए भने एन्ड्रयु बालबर्नीले २५ बलमा ३० रन बनाए । तर दुवै ओपनर आउट भएपछि अन्य ब्याट्सम्यानहरुले ठूलो इनिङ खेल्न सकेनन् ।
टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १८५ रन बनाएको थियो । न्युजिल्याण्डका लागि फिन एलन र कोनवेले ५२ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । फिनले ३२ र कोनवेले २८ रन बनाए । टोलीका कप्तान केन विलियम्सनले उत्कृष्ट ब्याटिङ गर्दै ३५ बलमा ६१ रनको इनिङ खेले । ग्लेन फिलिप्सले ९ बलमा १७ रन बनाए भने डेरिल मिचेलले २१ बलमा ३१ रन बनाए । तर अन्तिम दुई ओभरमा न्युजिल्यान्डको टोलीले खासै राम्रो गर्न सकेन, जसका कारण आयरल्याण्डले न्युजिल्यान्डको स्कोरमा १५–२० रन घटाउन सफल भयो ।
आयरल्याण्डका लागि बलिङमा जोसुवा लिटलले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । उनले आफ्नो अन्तिम ओभरमा लगातार तीन बलमा न्युजिल्यान्डका तीन ब्याट्सम्यानलाई आउट गर्दै ह्याट्रिक लिए । विश्वकपमा यो दोस्रो ह्याट्रिक हो । डेलानीले ४ ओभरमा ३० रन दिएर २ विकेट लिए । मार्क एडरले ४ ओभरमा १ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्