टी-२० विश्व कप : पाकिस्तानमाथी जिम्बाब्वेको रोमाञ्चक जित
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा जिम्बाब्वेले पाकिस्तानमाथी १ रनको रोमाञ्चक जित दर्ता गरेको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । जवाफमा पाकिस्तानी टोली २० ओभरमा ८ विकेट गुमाउदै १२९ रनमा रोकियो ।
जिम्बाब्वेले दिएको लक्ष्य पुरा गर्न मैदान उत्रिएको पाकिस्तानी टोलीको सुरुवात राम्रो हुन सकेन । टोलीले ८ ओभरमा ३६ रन बनाउदा मोहम्मद रिजवान (१४), कप्तान बाबर आजम (०४) र इफ्तिखार अहमद (०५) रनलाई गुमाएको थियो । त्यसपछि शान मसूद र शादाब खानले पाकिस्तानको इनिङ्सलाई सम्हाल्ने प्रयास गर्दै टोलीको स्कोर ८८ रनमा पुर्याए । १४ बलमा १ छक्का प्रहार गर्दै १७ रन बनाएका शादाबलाई सिकन्दर रजाले आफ्नो शिकार बनाए । अर्को बलमा रजाले हैदर अलीलाई शुन्य रनमा आउट बनाउदै पाकिस्तानलाई अर्को झट्का दिए। शान मसुद पनि ४४ रन बनाउने क्रममा रजाको तेस्रो शिकार बने ।
अन्तिम ओभरमा पाकिस्तानलाई ११ रन चाहिएको अवस्थामा जिम्बाब्वेका ब्राड इभान्स किफायती बलिङ गर्दै मात्र ९ रन दिए । उनले मोहम्मद नवाज (२२) को विकेट लिएका थिए। खेलको अन्तिम बलमा पाकिस्तानलाई ३ रन चाहिएको अवस्थामा शाहिन शाह अफ्रिदी दोस्रो रनमा रनआउट भए र जिम्बावेले १ रनले ऐतिहासिक जित दर्ता गरायो । जिम्बाब्वेका लागि सिकन्दर रजाले ३, ब्राड इभान्सले २, ब्लेसिङ मुजारबानी र लुक जोङवेले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले मेदभेरे र कप्तान क्रेग इर्विनलको साझेदारीमा ४.५ ओभरमा ४२ रन जोडदै् जिम्बाब्वेलाई राम्रो सुरुवात दिलाए । पाँचौं ओभरको अन्तिम बलमा हरिस रउफले इर्विनल (१९) रनलाई आउट बनाउदै पाकिस्तानलाई पहिलो सफलता दिलाए । अर्कोतर्फ मोहम्मद वासिमले मेदभेरे (१७) रनलाई आउट बनाउदै पाकिस्तानलाई दोहोरो सफलता दिलाए । त्यसपछि जिम्बाब्वेको विकेट नियमित अन्तरमा झर्दै गयो । यद्यपि सन विलियम्सले एक छेउबाट संघर्ष गर्दै ३१ रन बनाउदा जिम्बाब्वेले २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । बलिङमा पाकिस्तानका लागि मोहम्मद वासिमले ४, शादाब खानले ३ र हरिस रउफले १ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्