टेनिसमा फिक्सिङ, आईटीएले लगायो प्रतिबन्ध
काठमाडौं । टेनिसको दुनियाँमा पछिल्ला केही दिनमा फिक्सिङका घटनाहरु बाहिर आएका छन् । यस विषयमा टेनिस इन्टेग्रिटी एजेन्सी निकै कडा बनेको छ ।
चिनियाँ टेनिस खेलाडी बाओलुओ झेङले म्याच फिक्सिङ गरेको स्वीकार गरेपछि उनलाई ९ महिनाको प्रतिबन्ध लगाइएको छ । अन्तर्राष्ट्रिय टेनिस इन्टिग्रिटी एजेन्सीले झेङलाई प्रतिबन्ध लगाइएको जनाएको छ।
एजेन्सीले एक विज्ञप्तिमा भनेको छ, २१ वर्षीय झेङलाई इजिप्टमा सन् २०२२ अक्टोबरमा खेलिएको एक प्रतियोगितामा विपक्षी खेलाडीले जानाजानी खेल गुमाउनको लागि पैसाको प्रस्ताव गरेको थियो।
यसबाहेक झेङलाई चार लाख रुपैयाँ जरिवाना पनि लगाइएको छ । उनले भ्रष्टाचार विरोधी कानूनको उल्लंघन गरेको स्वीकार गरेका थिए। उनलाई २७ अक्टोबरमा अस्थायी रूपमा निलम्बन गरिएको छ ।
फिक्सिङको आरोपमा प्रतिबन्ध लाग्ने झेङ मात्र होइनन् चिलीकी टेनिस खेलाडी बारबरा गाल्टिका एभिल्सलाई पनि तीन वर्षको प्रतिबन्ध लगाइएको छ । इन्टरनेशनल इन्टिग्रिटी एजेन्सीले सन् २०१६ मा बारबराले जानाजानी म्याच हारेको र त्यही कारणले उनलाई प्रतिबन्ध लगाइएको बताएको छ । यससँगै उनलाई पाँच हजार डलर जरिवाना पनि लगाइएको छ ।
गाल्टिका एभिल्स हाल डब्ल्यूटीए वरीयतामा २५६ औं स्थानमा छिन्। उनको उत्कृष्ट वरीयता १५८ रहेको छ । यद्यपि उनले कहिल्यै ग्राण्डस्लाम खेल्न पाएकी छैनन् । केही दिनअघि फ्रान्सका दुई खेलाडीलाई पनि फिक्सिङको आरोपमा आजीवन प्रतिबन्ध लगाइएको थियो ।

टिप्पणी लेख्नुहोस्