लेख विवरण

डिफेन्डिङ च्याम्पियन गुजरातको मुम्बईमाथि पहिलो जित

डिफेन्डिङ च्याम्पियन गुजरातको मुम्बईमाथि पहिलो जित

काठमाडौंँ । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्समाथि पहिलो जित दर्ता गरेको छ । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको टोलीले रोहित शर्माको कप्तानीमा रहेको मुम्बईलाई ५५ रनले पराजित गरेको छ । मुम्बई आईपीएलको इतिहासमा नवौं पटक २००ं रनको लक्ष्य पछ्याउन असफल रह्यो।

जारी सिजनमा गुजरातको यो पाँचौं जित हो भने मुम्बईले चौथो खेलमा हार बेहोरेको छ । जितसँगै गुजरातको टोली अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा मुम्बईका कप्तान रोहित शर्माले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । जवाफमा मुम्बई इन्डियन्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनायो ।

खेलमा गुजरातको टर्निङ प्वाइन्ट

नूर अहमदको कसिलो बलिङ : ११ औं ओभरमा नूर अहमदको कसिलो बलिङले खेलको माहोल नै बदलियो । ११औं ओभरको दोस्रो र चौथो बलमा नूरले क्यामरुन ग्रीन र टिम डेभिडको विकेट लिए । आफ्नो स्पेलको अर्को ओभरमा उनले सूर्यकुमारलाई पनि प्याभिलियन फर्काएर मुम्बईको मिडल अर्डर सखाप बनाए ।

मिलर र मनोहरको साझेदारी : पाँचौं नम्बरमा आएका मिलर र छैटौंमा आएका अभिनव मनोहरले ३५ बलमा ७१ रनको साझेदारी गरे । यो साझेदारीले गुजरातको स्कोर २०० भन्दा माथि पुग्यो। यसअघि गुजरातले १०१ रनमा ४ विकेट गुमाएको थियो ।

शुभमन गिलको अर्धशतक : शुभमन गिलले टोलीका लागि उत्कृष्ट सुरुवात गरे । उनले ३४ बलमा ५६ रन बनाए । १२ रनमा साहाको विकेट गुमाएपछि पनि गिलले गुजरातलाई दबाबमा आउन दिएनन् । उनले कप्तान हार्दिक पाण्ड्यासँग ३८ र विजय शंकरसँग ४१ रन जोडे।

यसरी झर्यो मुम्बईको विकेट

पहिलो : दोस्रो ओभरको अन्तिम बलमा हार्दिक पाण्ड्याले रोहित शर्मालाई कट एण्ड बोल्ड गरे ।

दोस्रो : ८औं ओभरको तेस्रो बलमा राशिद खानले इशान किशनलाई जोसुआ लिटिलको हातबाट क्याच आउट गराए ।

तेस्रो : ८ औं ओभरको अन्तिम बलमा राशिद खानले तिलक वर्मालाई एलबीडब्लु बनाए ।

चौंथो : ११ औं ओभरको दोस्रो बलमा नूर अहमदले क्यामरुन ग्रीनलाई बोल्ड गरे ।

पाचौं : ११ औं ओभरको चौथो बलमा नूर अहमदले टिम डेभिडलाई अभिनव मनोहरको हातमा क्याच आउट गराए ।

छैटौं : १३ औं ओभरको अन्तिम बलमा सूर्यकुमारलाई नूर अहमदले कट एण्ड बोल्ड गरे।

सातौं : १८ औं ओभरको पहिलो बलमा पियुष चावला रनआउट भए ।

आठौं : १८ औं ओभरको अन्तिम बलमा मोहित शर्माले नेहललाई शमीको हातमा क्याच आउट गराए ।

मुम्बईको सुस्त सुरुवात, पावरप्लेमा बनायो मात्र २९ रन

२०८ रनको लक्ष्य पछ्याएको मुम्बईको सुरुवात सुस्त रह्यो । टोलीले ६ ओभरमा एक विकेट गुमाएर २९ रन मात्र बनायो । जारी सिजनको पावरप्लेमा यो दोस्रो कम स्कोर हो। यसअघि राजस्थानले गुजरातविरुद्ध दुई विकेटमा २६ रन जोडेको थियो।

गुजरातको इनिङ्स

गिलले बनाए अर्धशतक, मिलर र मनोहरको अर्धशतकीय साझेदारी

पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । ओपनर शुभमन गिल (५६ रन) ले सिजनको तेस्रो अर्धशतक बनाए, डेभिड मिलर ४६ र अभिनव मनोहर ४२ रनमा आउट भए भने राहुल तेवाटियाले ५ बलमा २० रन बनाए ।

मुम्बईका लागि पियुष चावलाले दुई विकेट लिए । अर्जुन तेन्दुलकर, जेसन बेहरेनडोर्फ, रिले मेरिडिथ र कुमार कार्तिकेयले एक एक विकेट लिए ।

यसरी झर्यो गुजरातको विकेट

पहिलोः अर्जुन तेन्दुलकरले तेस्रो ओभरको पहिलो बलमा साहालाई विकेटकिपर इशान किशनको हातबाट क्याच आउट गराए।

दोस्रोः सातौं ओभरको पहिलो बलमा पियुष चावलाले हार्दिक पाण्ड्यालाई सूर्यकुमार यादवको हातबाट क्याच आउट गराए।

तेस्रोः १२ औं ओभरको पहिलो बलमा कुमार कार्तिकेयले गिललाई लङ अनमा सूर्यकुमारको हातबाट क्याच आउट गराए ।

चौथोः १३ औं ओभरको दोस्रो बलमा पियुष चावलाले विजय शंकरलाई टिम डेभिडको हातबाट क्याच आउट गराए।

पाँचौंः १९ औं ओभरको पहिलो बलमा रिले मेरिडिथले अभिनव मनोहरलाई जेसन बेहरेनडर्फको हातबाट क्याच आउट गराए।

छैटौंः अन्तिम ओभरमा जेसन बेहरेनडर्फले डेभिड मिलरलाई सूर्यकुमार यादवको हातबाट क्याच आउट गराए ।

मिलर र मनोहरले जोडे ७१ रन

गुजरातका लागि मिडल अर्डरमा आएका डेभिड मिलर र अभिनव मनोहरले अर्धशतकीय साझेदारी गर्दै टोलीको स्कोर १५० भन्दा माथि पुर्याएका थिए। दुवैले ३५ बलमा ७१ रन जोडे। मुम्बईका मेरिडिथले मनोहरलाई आउट गर्दै यो साझेदारी तोडेका थिए ।

गिलले बनाए सिजनको तेस्रो अर्धशतक

गुजरातका शुभमन गिल ५६ रन बनाएर आउट भए । उनले ३० बलमा आफ्नो अर्धशतक पूरा गरे । गिलले आफ्नो करियरको १७ औं अर्धशतक बनाए । उनले जारी सिजनमा तेस्रो अर्धशतक बनाए ।

पावरप्लेमा गुजरातले बनायो ५० रन

गुजरातको सुरुवात मिश्रित रह्यो । टोलीलाई ६ ओभरमा ५० रन बनाउने क्रममा पहिलो झट्का लागेको थियो । ऋद्धिमान साहालाई अर्जुन तेन्दुलकरले ४ रनमा प्याभेलियनको बाटो देखाएका थिए ।

रोहित शर्माले आफ्नो टोलीमा दुई परिवर्तन गरेका थिए । कुमार कार्तिकेयको स्थानमा रिले मेरिडिथ र ऋतिक शोकिनको स्थानमा जोफ्रा आर्चरले मौका पाएका थिए । योसँगै गुजरातको टोलीमा कुनै परिवर्तन गरेको थिएन ।

 

 

 

 

 

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.