डेजर्ट भाइपर्सलाई हराउँदै गल्फ जायन्ट्स बन्यो पहिलो आइटीएल च्याम्पियन
काठमाडौंँ । गल्फ जायन्ट्स युएईको टी–२० फ्रेन्चाइज लिग (आइटीएल) च्याम्पियन बनेको छ । आइतवार भएको फाइनल खेलमा जायन्ट्सले डेजर्ट भाइपर्सलाई हराउदै पहिलो आइटीएल ट्रफी जित्न सफल भएको छ। पहिले ब्याटिङ गरेको डेजर्ट भाइपर्सले ८ विकेट गुमाउदै १४६ रन बनाएको थियो । जवाफमा जायन्ट्सको टोलीले १९ औं ओभरमा लक्ष्य पुरा गर्यो ।
दुबईमा आइतबार राति भएको फाइनल खेलमा जायन्ट्सका कप्तान जेम्स भिन्सले टस जितेर पहिले बलिङ रोजेका थिए । जेम्सको यो निर्णय सही साबित भयो र जायन्ट्सका बलरले कसिलो बलिङ गरेपछि डेजर्ट भाइपर्सले ४४ रन बनाउदा ४ महत्वपूर्ण विकेट गुमायो । त्यसपछि साम बिलिङ्स (३१) र वानिन्दु हसरंगा (५५) को इनिङ्समा भाइपर्सले सम्मानजनक स्कोर पुर्याउन सफल भयो। जाइन्ट्सका बलर कार्लोस ब्रेथवेटले तीन र काइस अहमदले दुई विकेट लिए । त्यस्तै डी ग्रान्डहोम र क्रिस जोर्डनले एक एक विकेट लिए ।
१४७ रनको लक्ष्य पछ्याएको जायन्ट्सलाई सुरुवातमै झट्का लागेको थियो । कप्तान जेम्स भिन्स (१४) र अलराउन्डर कोलिन डी ग्रान्डहोम (१) रनमा प्याभिलियन फर्किए । त्यसपछि क्रिस लिनले ५० बलमा अविजित ७२ रन बनाएर गल्फ टिमलाई जित दिलाए । उनलाई गेर्हार्ड इरास्मस (३०) र शिमरोन हेटमायर (२५ अविजित) ले राम्रो साथ दिए। जायन्ट्सले १८.४ ओभरमा ३ विकेट गुमाएर खेल जित्यो । कसिलो बलिङका कारण कार्लोस ब्राथवेट ‘प्लेयर अफ द म्याच’ चुनिए ।

टिप्पणी लेख्नुहोस्