तिलोत्तमा गोल्डकप : नेपाल पुलिसलाई हराउँदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा
काठमाडौंँ । बुटवलमा जारी तिलोत्तमा गोल्डकपको २२औँ शृङ्खलाअन्तर्गत मंगलवारको खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल प्रहरीको टिमलाई पराजित गरेको छ ।
बुटवलमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको मंगलवार अन्तिम क्वार्टरफाइनल खेलमा मनाङ मर्स्याङ्दी २–१ गोल अन्तरले विभागीय टिम नेपाल प्रहरीलाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो ।
मनाङ मर्स्याङ्दी क्लबले खेलको पहिलो हाफमा २ गोल गरेको थियो । दोस्रो हाफमा नेपाल पुलिस क्लबले १ गोल गर्दै खेललाई २–१ को स्थितिमा पु¥याएको थियो । नेपाल पुलिसले एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन । खेलमा पहिलो हाफको ३२ औँ मिनेटमा मनाङ मर्स्याङ्दीका प्रसन्न श्रेष्ठले पहिलो गोल गर्न सफल भएका थिए भने पहिलो हाफको इन्जुरी समयमा चेतनकुमार थारुले रिवाउन्ड सटमा दोस्रो गोल गर्न सफल भएका थिए । खेलमा मनाङ मर्स्याङ्दीका अनिश पोमु लिम्बू र कप्तान जीवन गुरुङले पहेँलो कार्ड पाएका थिए ।
नेपाल पुलिसका लागि खेलको दोस्रो हाफमा बुद्धबल तामाङले एक गोल फर्काएका थिए । उनले दोस्रो हाफको १६ औँ मिनेटमा गोल गरेका थिए । नेपाल पुलिसका मनोज राई र कृष्ण गुरुङले पहेँलो कार्ड पाएका थिए ।
खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत हुँदै मनाङ मर्स्याङ्दीका चेतनकुमार थारुले रु ११ हजार एक सय ११ प्राप्त गरे । योसँगै बुधवारदेखि सेमिफाइनलको खेल सुरु हुनेछन् । पहिलो सेमिफाइनल खेल आयोजक रुपन्देही ११ लाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको सुदूरपश्चिम ११ र हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थ्री स्टार क्लबबीच हुनेछ ।
रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित आठ टिम सहभागी भएको प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार एक सय ११ नगद पुरस्कार पाउने सङ्घले जनाएको छ । गोल्डकपको उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने छ ।

टिप्पणी लेख्नुहोस्