तिहारमा बैतडीको स्थानीय तहमा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन
बैतडी । नेपालीको दोस्रो ठूलो पर्व तिहारमा बैतडी खेलकुदमय बनेको छ । यहाँका स्थानीय तहमा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन भएका छन् ।
डिलाशैनी गाउँपालिकाले हरिनगरमा पालिकास्तरीय अध्यक्ष कप खुला भलिबल प्रतियोगिता आयोजना गरेको छ । दशरथचन्द नगरपालिका–२ देहिमाडौँमा आशिर्वाद बेकरी एण्ड क्याफेको आयोजनामा एबिसी टि–१० कप क्रिकेट प्रतियोगिता सञ्चालनमा छ । यस्तै दोगडाकेदार गाउँपालिका–७ खोलामा दोगडाकेदार युवा क्लबको आयोजनामा शुभकामना कप क्रिकेट प्रतियोगिता भइरहेको छ ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ नाराका साथ यही कात्तिक ७ र ८ गते तिहार र छठ पर्वका अवसरमा भूमेश्वर युवा क्लबको आयोजनामा पाटन नगरपालिका–४ मा खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । यस्तै मेलौली नगरपालिकाको गाउँकोटमा उदयदेव युवा क्लबको आयोजनामा कात्तिक ११ गतेदेखि खुला क्रिकेट प्रतियोगिता सञ्चालन हुँदैछ । खेलकुदको विकासका साथै खेलाडी उत्पादन गर्ने उद्देश्यले तिहारका अवसरमा भलिबल प्रतियोगिताको आयोजना गरिएको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र दिइनेछ भने दोस्रो हुनेलाई नगद रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ । यस्तै प्रतियोगितामा तृतीय हुने टिमलाई नगद रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । क्रिकेट खेलाडी उत्पादन र पालिकास्तरीय टोली छनोट गर्नका लागि शुभकामना कप क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको दोगडाकेदार युवा क्लबका सचिव मनोज महराले बताए । छ टोली सहभागी प्रतियोगिताको प्रथम प्रथम पुस्कार रु २५ हजार र द्वितीय पुस्कार १० हजार रहेको छ ।
एबिसी टि–१० कप क्रिकेटको विजेताले रु २५ हजार र उपविजेताले रु १० हजार पुस्कार पाउनेछन् । उदयदेव युवा क्लबको आयोजनामा हुने क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार रु २५ हजार र प्रमाणपत्र, द्वितीय पुरस्कार रु १५ हजार र प्रमाणपत्र राखिएको छ । भूमेश्वर युवा क्लबको आयोजनामा हुने खुला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार, ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु १५ हजार, द्वितीय पुरस्कार मेडल प्रमाणपत्रसहित नगद रु १० हजार र तृतीय पुस्कार, मेडल प्रमाणपत्रसहित नगद रु पाँच हजार राखिएको छ । तिहारका समयमा आयोजना गरिएको विभिन्न खेलकुद प्रतियोगिताले मनोरञ्जनका साथसाथै खेलाडी उत्पादनमा सहयोग पुग्ने श्रीकोट युवा क्लबका अध्यक्ष हेमराज गिरीले बताए ।

टिप्पणी लेख्नुहोस्