तेस्रो बोर्डर-गावस्कर टेस्टबाट प्याट कमिन्स बाहिरिए
काठमाडौंँ । पारिवारिक कारणले सिड्नी फर्किएका अष्ट्रेलियन कप्तान प्याट कमिन्स भारतविरुद्ध इन्दोरमा हुने तेस्रो बोर्डर–गावस्कर टेस्टबाट बाहिरिएका छन् ।
दिल्ली टेस्टमा हारको केही घण्टापछि कमिन्स बिरामी आमा भेट्न सिड्नी फर्केका थिए। उनी सप्ताहन्तमा भारत फर्किने र बुधबारबाट सुरु हुने तेस्रो टेस्ट अघि आइतबार टोलीमा सामेल हुने अपेक्षा गरिएको थियो।
यद्यपि, कमिन्सले छोटो अवधिमा आफ्नो परिवारसँग घरमै बस्ने निर्णय गरेका छन्।
कमिन्सले भने, 'मेरी आमा बिरामी भएकोले उनको उपचारका लागि म अहिले भारत नफर्कने निर्णय लिएको छु। यहाँ परिवारसँग बस्दा राम्रो हुनेछ भन्ने मलाई लागेको छ ।'
कमिन्स उपलब्ध नहुने भएपछि तेस्रो टेस्टमा टोलीका उपकप्तान स्टिभन स्मिथले कप्तानी गर्नेछन्। कमिन्स पूर्णकालिक टेस्ट कप्तान बनेदेखि स्मिथले उनको अनुपस्थितिमा दुई पटक टोलीको नेतृत्व गरेका छन्।
टेस्ट शृंखला पछि, कमिन्सलाई तीन खेलको एकदिवसीय शृंखलाको लागि अष्ट्रेलियाली टोलीको कप्तान नियुक्त गरिएको थियो। तर, उनी भारत फर्कने वा घरमै बस्ने निर्णय भने हुन बाँकी छ ।

टिप्पणी लेख्नुहोस्