लेख विवरण

थाईल्याण्डमा प्रतिमाको खराब प्रदर्शन

थाईल्याण्डमा प्रतिमाको खराब प्रदर्शन

काठमाडौं । नेपाली गल्फर प्रतिमा शेर्पाले एसिया-प्यासिफिक महिला च्याम्पियनसिपको पहिलो दिन खराब प्रदर्शन गरेकी छिन्। थाईल्याण्डको पट्टाया स्थित सियम कन्ट्री क्लबमा प्रतिमा १४-ओभर ८६ खेल्दै कुल ८६ प्रतिस्पर्धी मध्ये पुछारमा रहिन। १० औं‌ होलबाट दिनको शुरुवात गरेकी प्रतिमाले फ्रन्ट नाईन ९-ओभर ४५ तथा ब्याक नाईन ५-ओभर ४१ मा पुरा गरिन्। पुरै दिन लय समाउन नसकेकी उनले कुल छ वटा बोगी र चारवटा डबल बोगी खेपिन। यो निराशाजनक प्रदर्शनमा प्रतिमाले कट बनाउने संभावना लगभग समाप्त भएको छ।

मलेशियन खेलाडी लियाना डुरिसिक ६-अण्डर ६६ को सानदार स्कोर‌ सहित अग्रस्थानमा रहेकि छिन भने आस्ट्रेलियाकी बेनेट केल्सि र थाईल्याण्डकी भोंग्टाभिलाप नाथ्थाक्रिट्टा ५-अण्डर ६७ सहित सम्युक्त दोश्रो स्थानमा छन्। त्यस्तै, कोरियन‌ खेलाडी लिम जीयो ४-अण्डर ६८ सहित चौंथो स्थानमा छिन्।

प्रतियोगितामा नेपालले पहिलो‌ पटक सहभागिता जनाएको हो। गत हप्ता चोनबुरीमा सम्पन्न पुरुषतर्फको प्रतियोगितामा भने नम्बर एक खेलाडी सुबाश तामाङले ऐतिहासिक कट बनाउन सफल भएका थिए। ३६-होलको समाप्तीमा ईभन-पार १४४ को स्कोरसहित कट बनाएका सुबाशले तेश्रो र चौंथो दिन सम्हालिन नसक्दा ५४औं स्थानमा प्रतियोगिताको अन्त्य गरेका थिए। सन् २००९ देखि सहभागीता जनाएको नेपालका लागी १३औं दक्षिण एशियाली खेलकूदमा‌ दोहोरो स्वर्ण पदक विजेता सुबाशले पहिलो पटक कट बनाएका हुन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.