थाईल्याण्डमा सुबाशको बिर्सनलायक प्रदर्शन
काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश तामाङले एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिपको तेश्रो दिन बिर्सनलायक प्रदर्शन गरेका छन्।
थाईल्याण्डको चोनबुरीस्थित अमाटा स्प्रिङ्ग कन्ट्री क्लबमा १३औं दक्षिण एशियाली खेलकूदमा दोहोरो स्वर्ण पदक विजेता सुबाशले खराब राउण्ड खेल्ने क्रममा आठवटा बोगी र चारवटा डबल बोगी खेप्दै १४-ओभर ८६को कार्ड बुझाए। १०औं टि-बक्सबाट खेल शुरू गरेका सुबाश फ्रन्ट नाईनमा ८-ओभर ४२ खेल्दा ब्याक नाईनमा ६-ओभर ४२ खेले।
दोश्रो दिन उत्कृष्ट पुनरागमन गर्दै २-अण्डर ७०को कार्ड बनाएर कूल ईभन-पार १४४ स्कोर सहित ऐतिहासिक कट बनाएका सुबाषले आज करियरकै खराब प्रदर्शन गरे। १०, ११, १४ र १६औं होलमा एक-एक सट गुमाएका उनले १७ र १८औं होलमा डबल बोगी खेपे।
ब्याक नाईनमा पनि उनको खराब लय कायमै रह्यो। दोश्रो, तेश्रो, पाँचौं र नवौं होलमा बोगी खेल्दा सुबाशले छैठौं होलमा डबल बोगीको सामना गरे।
तेश्रो दिनको समाप्तीमा सुबाश कूल १४-ओभर २३० स्कोर सहित ५४औं स्थानमा झरेका छन्। गत हप्ता बैंककमा सम्पन्न ८८औं सिंघा थाईल्याण्ड ओपनमा उनले नवौं स्थान हासिल गरेका थिए।
आस्ट्रेलियाका ह्यारिसन क्रो ५-अण्डर ६७ को कार्ड बनाउँदै कूल १३-अण्डर २०३ स्कोर सहित अग्रस्थानमा उक्लेका छन्। कोरियाका मिनह्युक संग र चीनका बो जीन ११-अण्डर २०५ सहित सम्युक्त दोश्रो स्थानमा छन्। त्यस्तै, चीनका वेन्यी डिङ र जापानका रिउटा सुजुकी १०-अण्डर २०६ मा सम्युक्त चौंथो स्थानमा छन्।

टिप्पणी लेख्नुहोस्