दक्षिण अमेरिकी देशको छनोट खेलमा भेनेजुएला र पेरु विजयी
एजेन्सी। कतार फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी देशको छनोट खेलमा भेनेजुएला र पेरु विजयी भएका छन् । शनिबार बिहान भएको खेलमा भेनेजुएलाले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बोलिभियालाई ४–१ गोलले हरायो । अर्को खेलमा पेरुले कोलम्वियालाई १–० गोलले स्तब्ध बनायो ।
भेनेजुएलाको सानदार जितमा जोस सलोमोन रोन्डोनले ह्याट्रिक गरे । अर्को गोल डार्विन माचिसले थपे । बोलिभियाका ब्रुनो मिरान्डाले सान्त्वना गोल फर्काएका थिए । भेनेजुएलाले २४औँ मिनेटमा रोन्डोनको गोलबाट अग्रता लिएको थियो । ३४औँ मिनेटमा रोन्डोनले नै गोल गर्दै भेनेजुएलाको अग्रता दोब्बर बनाए । ३८औँ मिनेटमा ब्रुनो मिरान्डाले गोल गर्दै बोलिभियालाई खेलमा फर्काउने प्रयास गरे ।
तर दोस्रो हाफमा भेनेजुएलाले दुई गोल थप्यो । ५५औँ मिनेटमा डार्विन माचिसले गोल गर्दै भेनेजुएलालाई थप बिलयो बनाए । ६०औँ मिनेटमा लियोनेल जस्टिनियनो रातो कार्ड पाउँदै बाहिरिएपछि बोलिभिया १० खेलाडीमा समेटियो । त्यसपछि ६७औँ मिनेटमा रोन्डोनले ह्याट्रिक पूरा गर्दै भेनेजुएलालाई फराकिलो जित दिलाए । जितेपनि १५ खेलबाट १० अंक बनाएको भेनेजुएला तालिकाको अन्तिममा छ । पराजित बोलिभिया १५ अंक सहित आठौँ स्थानमा छ ।
यसैगरी अर्को खेलमा पेरुलाई जिताउन इडिसन फ्लोरेसले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक खेलमा फ्लोरेसले ८५औँ मिनेटमा गोल गर्दै पेरुलाई महत्वपूर्ण जित दिलाए । जितसँगै चौथो स्थानमा उक्लिएका पेरुले २० अंक बनाएको छ । पराजित कोलम्विया १७ अंक सहित छैटौँ स्थानमा छ । शीर्षस्थानमा रहेको ब्राजीलको १४ खेलबाट ३६ र दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ३२ अंक छ । तेस्रो स्थानमा रहेको इक्वेडरको २४ अंक पुगेको छ ।

टिप्पणी लेख्नुहोस्