लेख विवरण

दक्षिण कोरिया बिरुद्धको खेलमा नेयमारले खेल्ने

दक्षिण कोरिया बिरुद्धको खेलमा नेयमारले खेल्ने

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा ब्राजिलले सोमबार (डिसेम्बर ५) दक्षिण कोरियाको सामना गर्नेछ । प्रि-क्वार्टरफाइनलमा दुवै टोली आमनेसामने हुनेछन् । यो खेलअघि टोलीका स्टार खेलाडी नेयमार जुनियर खेल्नका लागि फिट भएका छन् । नेयमार घुँडाको चोटबाट निको भएर पुनरागमनका लागि प्रशिक्षण गरिरहेका छन् । ब्राजिलका प्रशिक्षक टिटेले नेमारलाई दक्षिण कोरियाविरुद्ध खेलमा खेलाउने बताएका छन ।

नेयमार सर्बियाविरुद्धको खेलमा घाइते भएका थिए । उक्त खेल ब्राजिलले २–० ले जितेको थियो । त्यसपछि उनले स्विट्जरल्याण्ड र क्यामरुनविरुद्धको खेलमा खेल्न पाएनन ।

पत्रकार सम्मेलनमा प्रशिक्षक टिटेले भने, ‘नेयमारले आज प्रशिक्षण गर्नेछन् । यदि उनले राम्रो अभ्यास गरे भने उनलाई टोलीमा राखिनेछ।' नेयमारको दाहिने खुट्टामा लामो समयदेखि समस्या छ। चार वर्षअघि उनले सोही खुट्टाको शल्यक्रिया गराएका थिए ।

ब्राजिलका अर्का खेलाडी डानिलो पनि सर्बियाविरुद्धको खेलमा घाइते भएका थिए । एलेक्स टेल्स र टोलीका फरवार्ड गेब्रियल जेसस क्यामरुनविरुद्धको खेलमा घुँडा चोट बोकेपछि प्रतियोगिताबाट बाहिरिएका छन् ।

ब्राजिलले विश्वकपमा लगातार आठौं पटक क्वाटरफाइनल पुग्ने लक्ष्य राखेको छ । टोली पछिल्लो पटक सन् १९९० मा प्रि-क्वार्टरफाइनलमा पराजित भएको थियो । त्यसयता ब्राजिल दुई पटक विश्वकप च्याम्पियन बनेको छ ।

ब्राजिल दुई पटक विश्वकपको फाइनलमा र तीन पटक क्वार्टरफाइनलमा पराजय भएको छ । टोली एक पटक विश्वकपमा चौथो स्थानमा रहेको थियो । सन् २००२ पछि ब्राजिल च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.