दिल्ली लगातार पाँचौं खेलमा पराजित, बैंगलोर २३ रनले विजयी
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले लगातार पाँचौं खेलमा हार बेहोरेको छ । डेभिड वार्नरको कप्तानीमा रहेको दिल्ली रोयल च्यालेन्जर्स बैंग्लोरसँग २३ रनले पराजित भएको छ । जितसँगै बेंगलुरु अंक तालिकामा ७ औं स्थानमा छ भने दिल्ली पुछारमा रहेको छ ।
एम. चिन्नास्वामी रंगशालामा भएको खेलमा दिल्लीले टस जितेर बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । जवाफमा दिल्लीका ब्याट्सम्यानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो ।
बैंगलोरका लागि विराट कोहली (५० रन)ले अर्धशतक बनाए भने महिपाल लोमरर (२६ रन), ग्लेन म्याक्सवेल (२४ रन) र कप्तान फाफ डु प्लेसिसले (२२ रन)को महत्वपूर्ण पारी खेले। दिल्लीका मिचेल मार्स र कुलदीप यादवले समान २–२ विकेट लिए ।
१७५ रनको लक्ष्य पछ्याएको दिल्लीको सुरुवात राम्रो हुन सकेन । पावरप्लेमा टोलीले ३२ रन बनाएर चार विकेट गुमायो । यस्तो अवस्थामा मिडल अर्डरमा ब्याटिङ गर्न आएका मनिष पाण्डेले ५० रन बनाउदै इनिङ्स सम्हाल्ने प्रयास गरे । तर उनलाई पनि हसरङ्गाले एलबीडब्लुको शिकार बनाए । अक्षर पटेल (२१ रन)ले पनि प्रभावकारी ब्याटिङ गर्न सकेनन् । कप्तान डेभिड वार्नरले १९ रनको योगदान दिए ।
बैंगलोरका लागि आइपिएलमा डेब्यु गरेका विजयकुमार वैशाकले तीन विकेट लिए । सिराजले दुईवटा सफलता हात पार्दा पारनेल, हसरंगा र हर्षल पटेलले समान १–१ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्