दुई देशका लागि शतक प्रहार गरेका ग्यारीले लिए क्रिकेटबाट सन्यास
काठमाडौंँ । इंग्ल्याण्ड र जिम्बाब्वेबाट खेलेका क्रिकेटर ग्यारी ब्यालेन्स सन्यास लिएका छन् । उनले सन् २०१४ र २०१७ को बीचमा इङ्गल्याण्डका लागि २३ टेस्ट खेल्ने क्रममा चार शतक प्रहार गरेका थिए। त्यसपछि ग्यारी सन् २०२३ को जनवरीदेखि मार्च सम्म जिम्बाब्वे क्रिकेटमा फर्किए, जहाँ उनले अन्डर–१९ क्रिकेट खेलेका थिए।
उनले जिम्बाब्वेका लागि बुलावायोमा वेस्ट इन्डिज विरुद्धको एकमात्र टेस्ट सहित कुल आठ अन्तर्राष्ट्रिय खेल खेले। उक्त खेलमा ग्यारीले १३७ रनको कीर्तिमानी इनिङस खेलेका थिए । उनी दुई देशका लागि शतक प्रहार गर्ने विश्वकै दोस्रो क्रिकेटर हुन्। यो किर्तिमान बनाउने खेलाडीमा पहिलो नाम केप्लर वेसेल्सको आउछ । केप्लरले अष्ट्रेलिया र दक्षिण अफ्रिकाका लागि टेस्ट शतक बनाएका थिए।
ग्यारीले गत महिना नेदरल्यान्ड्स विरुद्धको एकदिवसीय खेलमा अविजित ६४ रन बनाएका थिए जसलाई अहिले अन्तर्राष्ट्रिय क्रिकेटमा उनको अन्तिम इनिङ मानिन्छ।
सन्यास लिएपछि ग्यारीले जिम्बाब्वे क्रिकेटलाई धन्यवाद दिँदै भने, "म यस्तो अवस्थामा आई पुगेको छु जहाँ मैले व्यावसायिक स्तरमा क्रिकेट खेल्ने इच्छा हराएको छ। यदि मैले अझै क्रिकेट खेलेँ भने त्यो मलाई र क्रिकेटलाई न्याय हुने छैन । योर्कशायरका लागि काउन्टी च्याम्पियनसिप जित्न पाउनु र त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा इङ्ल्यान्ड र जिम्बाब्वेको प्रतिनिधित्व गर्ने मौका पाउनु म आफुलाई धेरै भाग्यमानी ठान्छु।"
"म मेरा क्लबहरू, प्रशिक्षकहरू, सहयोगी कर्मचारीहरू, टोलीका साथीहरू र फ्यानहरूलाई धन्यवाद दिन चाहन्छु जसले मलाई मेरो करियरमा साथ दिनुभएको छ। यद्यपि अब मेरो लागि क्रिकेटभन्दा बाहिर अर्को अध्यायमा जाने समय आएको छ।" उनले भने ।
ग्यारीले २४ टेस्टमा ४०.३१ को औसतले १ हजार ६ सय ५३ रन बनाएका छन् । प्रथम श्रेणी खेलमा उनले ४७.७४ को औसतले ४२ शतक र १२ हजार ३१ रन बनाएका छन् । उनले लिस्ट ए खेलमा पनि ८ शतक बनाएका छन् । योर्कशायरबाट खेल्दा ग्यारीमाथी टोलीका साथी रफिकलाई जातीय टिप्पणी गरेको आरोप लगाइएको थियो, जुन पछि सत्य साबित भएको थियो । त्यसपछि उनी इङ्ल्यान्डबाट जिम्बावे पुगेका थिए ।

टिप्पणी लेख्नुहोस्