देवराज महतरा लिस्तिकोट दुगुनागढी ट्रेलरेस च्याम्पियन
सिन्धुपाल्चोक । तेस्रो लिस्तीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महातराले हात पारेका छन् ।
बिहीबार सम्पन्न खेलमा साविक विजेता धावक महतरा करिब डेढ सय सहभागीलाई पछाडि पार्दै प्रतियोगिताको खुला विधातर्फ लगातार दोस्रो पटक विजेता बनेका हुन् । महतराले दुई घण्टा आठ मिनेटमा निर्धारित दूरी पार गर्दै उपाधि जितेका हुन् ।
मोहनदेव जोशी दुई घण्टा १५ मिनेटमा दूरी पूरा गर्दै दोस्रो भएका छन् । राजेन्द्र तामाङ दुई घण्टा १६ मिनेट, सुमन कुलुङ दुई घण्टा २० मिनेट, अर्जुनकुलुङ राई दुई घण्टा २१ मिनेट र वेदबहादुर सुनुवार दुई घण्टा २२ मिनेटमा निर्धारित दूरी पार गर्दै क्रमश ः तेस्रो, चौथो, पाँचौँ र छैटौँ भए । चौबिस दशमलव पाँच किलोमिटरको ट्रेल रेस भोटेकोशी गाउँपालिकाको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयको प्राङ्गणबाट ऐतिहासिक भूमि दुगुनागढीमा पुगेर समापन भएको थियो । जिल्लास्तरीय दौडमा भने राजेन्द्र तामाङ प्रथम भए । राहुल तामाङ दोस्रो र पूर्वा सिगी लामा तेस्रो भए ।
महिला खुलामा प्रिया राई दुई घण्टा ५८ मिनेटमा निर्धारित दूरी पार गर्दै पहिलो भइन् । अनिता राई दोस्रो र सुनकला राई तेस्रो भइन । भोटेकोशी गाउँपालिकास्तरीयतर्फ नेत्रविक्रम खडकाले तीन घण्टा ३५ मिनेटेमा निर्धारित दूरी पार गरी प्रथम भए भने भक्तबहादुर बुढाथोकी दोस्रो र अजय प्रधान तेस्रो भए । प्रतियोगितामा खुलातर्फ पहिलो हुनेले नगद एक लाख १० हजार, दोस्रोले ७५ हजार, तेस्रोले ५५ हजार, चौथोले ४० हजार, पाँचौँले ३० हजार र छैटौँ हुने खेलाडीले २० हजार नगद पुरस्कारसहित मेडल प्राप्त गरेका थिए ।
सिन्धुपाल्चोक जिल्लास्तरीय प्रतियोगितामा प्रथम हुनेले ३० हजार, दोस्रोले २० हजार र तृतीय हुनेले रु १५ हजार नगद पुरस्कार पाएका थिए । महिलातर्फ प्रथम हुनेले ६० हजार, द्वितीयले ३५ हजार र तृतीय हुनेले २० हजार प्राप्त गरेका थिए । भोटेकोशी गाउँपालिकास्तरीय प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्वितीयले १५ हजार र तृतीयले नगद २० हजार प्राप्त गरेका थिए ।
गोरख बक्स गण चौताराको संयोजन तथा भोटेकोशी गाउँपालिकाको आयोजनामा प्रतियोगिता भएको हो । ऐतिहासिक नेपाल–तिब्बत युद्ध किल्ला दुगुनागढीको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले विगत तीन वर्षदेखि प्रतियोगिता आयोजना हुँदै आएको छ ।
विजेता धावकलाई प्रमुख अतिथि उपत्यका पृतना पति उपरथि योगराज शर्मा, गोरख बक्सका गणपति कर्णेल जनक सिलवाल, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनोर्पु शेर्पा, सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका महासचिव शम्भु तिमिल्सिना, अन्तर्राष्ट्रिय धाविका मीरा राईलगायतले ट्रफी, मेडल, नगद र प्रमाणपत्र प्रदान गरे ।

टिप्पणी लेख्नुहोस्