लेख विवरण

धनगढी मेयर एलपीएल–६ को तयारी पुरा

धनगढी मेयर एलपीएल–६ को तयारी पुरा

काठमाडौं । धनगढीमा हुने यु–१९ बिद्यालय स्तरीय धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको छैठौं संस्करणको तयारी पुरा भएको छ । सोमबार देखि सुरुहुने प्रतियोगिता फाल्गुन १४ गते सम्म धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा आयोजना हुने आयोजकले जनाएको छ ।

आइतबार धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका छन् । ट्रफी सार्वजनिक गर्दै मेयर वडले धनगढीलाई क्रिकेट शहरको रुपमा परिचीत गराउने उपमहानगरपालिकाको उदेश्य अनुरुप यस्ता प्रतियोगिताले थप उर्जा मिलेको बताए । उनले प्रतियोगिताको सफलतको समेत शुभकामना ब्यक्त गरे।

नेपाली अन्डर–१९ राष्ट्रिय क्रिकेट टिमका वर्तमान कप्तान देव खनाल सहित उपकप्तान शेर मल्ल लगायत यु–१९ राष्ट्रिय क्रिकेटरहरु अर्जुन साउद, आदील अन्सारी, राहुल भण्डारी, बिपिन रावल, आकाश चन्द, बिशाल बिक्रम केसी, बसिर एहमद जस्ता खेलाडीहरु बिभिन्न टिमहरुबाट प्रतियोगिता खेल्दैछन्।

टि–ट्वान्टी फर्म्याटमा खेलाइने प्रतियोगितामा १० बिद्यालय टिम सहभागी छन्। सहभागी टिमहरुलाई ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ। जस अनुसार समूह ‘ए’ मा हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कुल काठ्माण्डौँ, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इङ्लिस बोर्डिङ स्कुल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया कैलाली रहेका छन् । त्यसै गरी समूह ‘बी’ मा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कुल लम्की, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल धनगढी, विद्या भूषण पब्लिक स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेका छन् । यस्तै भोलिहुने उद्घाटन खेलमा पाँचौँ संस्करणको उप–विजेता तथा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया भिड्ने छन्।

प्रतियोगिताको लागि संघीय प्रहरीको खेल मैदान दुई महिना अगाडी देखि तयार गरिएको थियो जसले पूर्णता पाएको छ। यस अघि माघ २२ गते सुरु हुने घोषणा गरिएता पनि कोभिड–१९ का कारण १० दिन सारिएको हो।

प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले २० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ, प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ तथा प्रत्येक खेलको सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीले ५०० रुपैयाँ प्राप्त गर्नेछन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.