धोनीको चेतावनीः वाइड र नो बल फालेमा नयाँ कप्तानसँग खेल्न तयार रहनु
काठमाडौंँ । चेन्नई सुपर किंग्स (सिएसके)का कप्तान एमएस धोनीले आईपीएलमा सोमबार राति लखनऊ सुपर जाइन्ट्सलाई १२ रनले पराजित गरेपछि आफ्नो टोलीका बलरहरूलाई चेतावनी दिएका छन्। खेलपछिको प्रेजेन्टेशनमा धोनीले भने, ‘हामीले फास्ट बलिङमा सुधार गर्नुपर्छ । अगाडिको टोलीले के गर्छ हेर्नु पनि महत्त्वपूर्ण छ। टोलीका खेलाडीले नो र वाइड बल कम गर्नु आवश्यक छ । हामीले धेरै अतिरिक्त रनहरू दिइरहेका छौं। यदि यो जारी रह्यो भने मेरो दोस्रो चेतावनी हुनेछ र त्यसपछि टोलीले नयाँ कप्तानसँग खेल्नुपर्नेछ।
धोनीले भने, ‘चेपौक स्टेडियमको पिच देखेर म छक्क परेको छु । खेलमा कम रनको होला भन्ने लागेको थियो तर हाई स्कोरिङ भयो । ५–६ वर्षमा पहिलो पटक स्टेडीयम खचाखच भरिएको थियो । हेर्दै जाउँ अबको खेलहरुमा विकेट कस्तो रहन्छ ।
खेलको अन्तिम ओभरमा मार्क वुडको बलमा कप्तान महेन्द्र सिंह धोनीले लगातार दुई छक्का प्रहार गरेका थिए । इनिङ्सको २० औं ओभरमा उनले मार्क वुडको दोस्रो बललाई डिप पोइन्टमा र तेस्रो बल स्क्वायर लेगतर्फ छक्का प्रहार गरे। अर्को बलमा उनी आउट भए । योसँगै धोनी आईपीएलको अन्तिम ओभरमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् ।
धोनी ब्याटिङमा आउनेबित्तिकै चेपौक स्टेडियममा ‘धोनी..धोनी...’को नारा गुन्जिन थाल्यो। उनलाई साथ दिन दर्शकले आफ्नो मोबाइलको फ्ल्यासलाइट अन गरे । धोनीको छक्का पछि सिएसकेले आफ्नो पारी २१७/७ मा समाप्त गर्यो।
चेपौकमा महेन्द्र सिंह धोनीले ३ बलमा २ छक्का प्रहार गर्दै १२ रन बनाए । योसँगै उनले आईपीएलमा ५ हजार रन पनि पुरा गरे । उनी यो किर्तिमान बनाउने पाँचौं भारतीय र समग्रमा सातौं खेलाडी बने। यसका लागि धोनीले २३७ खेल खेले । धोनीले २० औं ओभरमा दुवै छक्का प्रहार गरेका थिए । उनी आईपीएलको २० औं ओभरमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडीको रुपमा पहिलो नम्बरमा छन् । उनको नाममा कुल ५५ छक्का छ । उनीपछि केरोन पोलार्डले ३३ छक्का, रविन्द्र जडेजाले २६ र हार्दिक पाण्ड्याले २५ छक्का प्रहार गरेका छन् । मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा २३ छक्कासहित यो सूचीमा पाँचौं नम्बरमा छन् ।
आईपीएल २०२३ को छैटौं खेलमा चेन्नई सुपर किंग्सले लखनउ सुपर जाइन्ट्सलाई १२ रनले पराजित गरेको छ । टोलीले झण्डै चार वर्षपछि आफ्नै घरेलु मैदान चेपौकमा खेलेको हो । चेन्नईले यहाँ पछिल्लो २२ खेलमा १९ औँ जित हात पारेको छ । यो जितसँगै चेन्नईको टोली लखनउको बराबरीमा पुगेको छ । यी दुईबीचको यो दोस्रो खेल थियो । पहिलो खेल लखनउले जितेको थियो ।
पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । टोलीले आईपीएलमा २४ औं पटक २००ं रन बनाउने कीर्तिमान पनि गरेको छ । जवाफमा लखनउका ब्याट्सम्यानले २० ओभरमा ७ विकेट गुमाएर २०५ रन मात्रै बनाउन सक्यो ।

टिप्पणी लेख्नुहोस्