नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा त्रिभुवन आर्मी च्याम्पियन
दमौली । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा आज सम्पन्न फाइनल खेलमा बागमती प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब बास्केटबलमा च्याम्पियन बनेको हो ।
त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ४५–३० अङ्कले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक भएको खेलमा आर्मी र बागमती प्रदेशबीच पहिलो क्वार्टरमा १०–८, दोस्रो क्वार्टरमा १४–७, तेस्रो क्वार्टरमा ८–१२ र चौथो क्वार्टरमा १३–३ अङ्क प्राप्त भएको थियो ।
त्रिभुवन आर्मीको जीतमा प्रतीक्षा मगरले सबैभन्दा बढी व्यक्तिगत ११ अङ्क जोडेकी थिइन । बागमतीका तर्फबाट अनुशा मल्ल ठकुरीले व्यक्तिगत आठ अङ्क जोडेकी थिइन ।
उपाधिसँगै त्रिभुवन आर्मी क्लबले महिला बास्केटबलमा एक स्वर्ण पदक जितेको छ । च्याम्पियन बनेको त्रिभुवन आर्मी क्लबलाई नवौँ खेलकुदको ट्रफी प्रदान गरिएको छ । साथै विजेता बनेको आर्मीका प्रतिखेलाडीलाई नगद रु १५ हजार प्रदान गरिएको छ ।
उपविजेता बनेको बागमती प्रदेशले रजत पदक जितेको छ । त्यस्तै गण्डकी प्रदेशले कांस्य पदक प्राप्त गरेको छ । तेस्रो स्थानका लागि आजै भएको खेलमा गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई पराजित गरेको थियो ।
गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ४६–२४ अङ्कले पराजित गरेको छ । गण्डकीले पहिलो क्वार्टरमा १६–९, दोस्रो क्वार्टरमा १०–४, तेस्रो क्वार्टरमा १२–७ र चौथो क्वार्टरमा ८–४ अङ्क जोडेको थियो ।
गण्डकीको जीतमा सीमा गर्बुजाले व्यक्तिगत १९ अङ्क जोडेकी थिइन भने सुदुरपश्चिमका तर्फबाट सम्झना शाहीले सात अङ्क जोडेकी थिइन ।

टिप्पणी लेख्नुहोस्