नवौँ राष्ट्रिय खेलकुद : सावित्राको दोहोरो ह्याट्रिक
स्याङ्जा । सावित्रा भण्डारीको दोहोरो ह्याट्रिक सँगै सशस्त्र प्रहरीको एपीएफ क्लबले महिला फुटबलमा सानदार जित निकालेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वालिङमा शुक्रबार भएको खेलमा एपीएफले प्रदेश–१ लाई ७–१ गोलले हरायो ।
प्रतियोगितामा एपीएफको लागि भण्डारीले ६ गोल गरिन । अनिता केसीले एक गोल थपेकी हुन । प्रदेश–१ की अन्जना थुलुङले सान्त्वना गोल गरिन । सावित्राले २३औँ मिनेटमा खाता खोलेकी थिइन । उनले ४०औँ र ४५औँ मिनेटमा गोल गर्दै पहिलो हाफमै ह्याट्रिक पूरा गरिन ।
दोस्रो हाफमा अर्को ह्याट्रिक गरेकी सावित्राले ५१औँ, ५८औँ र ६५औँ मिनेटमा गोल गरेकी हुन । यसअघि अनिताले ६०औँ मिनेटमा एक गोल थपेकी थिइन । विपक्षी अन्जनाले २४औँ मिनेटमा गोल गरेकी थिइन । महिला फुटबलमा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहेको छ । महिला फुटबल कात्तिक २ गतेसम्म चल्नेछ ।

टिप्पणी लेख्नुहोस्