लेख विवरण

नवौं राष्ट्रिय खेलकुदः तेस्रो दिन पनि स्वर्णमा आर्मीकै वर्चस्व

नवौं राष्ट्रिय खेलकुदः तेस्रो दिन पनि स्वर्णमा आर्मीकै वर्चस्व

पोखरा । नवौं राष्ट्रि खेलकुदमा आइतबार तेस्रो दिन २६ स्वर्णका लागि प्रतिस्पर्धा भयो । एथ्लेटिक्समा दोस्रो दिन चार स्वर्ण पदकको छिनोफानो भयो भने पौडीमा पनि पाँच, लन टेनिसमा दुई, साइकलिङमा दुई, आइटिइफ तेक्वान्दोमा चार, शारीरिक सुगठनमा दुई, फुलकन्ट्याक्टमा तीन, भरोक्तोलनमा एक र सेपाताक्रोमा दुई स्वर्ण पदकको टुङगो लाग्यो ।

दोस्रो दिनको झै तेस्रो दिनमा पनि पदक तालिकामा त्रिभुवन आर्मी क्लबै वर्चस्व रह्यो । आर्मीले २५ मध्ये १८ स्वर्ण जित्दा गण्डकीले चार, नेपाल पुलिस क्लबले दुई, एनआरएनले एक र प्रदेश एकले एक स्वर्ण जित्यो ।

एथ्लेटिक्समा आर्मीको दबदबा

May be an image of 1 person and outdoors

तेस्रो दिन आइतबार एथ्लेटिक्समा आर्मीले तीन कीर्तिमानसहित चार स्वर्ण पदक जित्यो । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर पुरुषमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । आइतबार बिहान पोखरा रंगशालामा भएको खेलमा उनले निर्धारित दूरी ३० मिनेट १०.३० सेकेन्डमा पूरा गर्दै ८ वर्ष पुरानो गोपी चन्द्र पार्कीको कीर्तिमान भङ्ग गरे । गोपीले २०१४ मा साउथ कोरियामा भएको एसियन गेम्समा ३० मिनेट ३०.९९ सेकेन्डका साथ कीर्तिमान बनाएका थिए ।

त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको ४०० मिटर महिला हर्डल्समा स्वर्ण पदक जितेकी छन् । उनले यो इभेन्टमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । उनले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गरिन् । यस्तै, १ मिनेट ०६.०६ मा पूरा गरेकी एपिएफकी भागिरथी कुमारी थारुले रजत पदक जितिन् । एपिएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सकेन्ड खर्चिँदै कास्य पदक जितिन् । यसअघि यो कीर्तिमान उनको आफ्नै नाममा थियो । उनले ४४औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा १ मिनेट ०७.२ को कीर्तिमान कायम गरेकी थिइन् ।

एथ्लेटिक्सको महिला हाइजम्पमा आर्मीकी खगिता सिंजाली मगरले स्वर्ण पदक जितिन् । पोखरा रंगशालामा आइतबार भएको खेलमा १.५२ मिटर उचाई नाघेर उनले स्वर्ण पदक जितेकी हुन । यसै इभेन्टमा आर्मीकै बिन्दु थनेटले रजत र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कास्य पदक जितिन् । बिन्दुले १.५० तथा १.४१ को उचाई नाघेकी थिइन् ।

एथ्लेटिक्सको पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सूर्य बहादुर खत्रिले स्वर्ण पदक जितेका छन् । आइतबार पोखरा रंगशालामा भएको खेलमा सूर्यले १.९० मिटरको उचाई नाघेर स्वर्ण जितेका हुन् ।

पौडीमा पनि आर्मीकै वर्चश्व

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेस्रो दिन पनि पौडीमा आर्मीकै वर्चश्व रह्यो । आर्मीका नासिर हुनेसनले नयाँ राष्ट्रिय कीर्तिमानसहित दुई स्वर्ण पदक जितेका छन् । आइतबार भएको पुरुष २०० मिटर फ्रिस्टाइलमा यसअघि सन् २०२१ को डिसेम्बरमा १५औं फिना विश्व पौडी च्याम्पियनसिपमा आफैंले बनाएको १ मिनेट ५८.३० सकेन्डको कीर्तिमान तोड्दै स्वर्ण जिते । आइतबार पोखराको फिस्टेल एकेडेमीको पौडी पोखरीमा निर्धारित दूरी १ मिनेट ५५.३९ सेकेन्डमा पार गर्दै उनले नयाँ कीर्तिमान बनाए । आइतबार साँझ नै भएको पुरुष २०० मिटर इन्डिभिजुअल मेड्लेमा पनि उनी आफैंले गत वर्ष फिना च्याम्पिनसिपमै बनाएको २ मिनेट ११.८५ सेकेन्डको कीर्तिमान तोड्दै स्वर्ण जिते ।

डुवाना लामाले आफ्नै नाममा भएको कीर्तिमान सुधार गर्दै नवौं राष्ट्रिय खेलकुदको पौडीमा स्वर्ण पदक जितेकी छिन् । आइतबार पोखराको फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको ५० मिटर महिला ब्रेस्ट स्ट्रोकमा आफ्नो तीन वर्ष पुरानो कीर्तिमान सुधार गर्दै स्वर्ण जितेकी हुन् ।

एनआरएनएकी एस्ली सापकोटा डंगोलले चौथो स्वर्ण पदक जितेकी छिन् । पोखरास्थित फिस्टेल एकेडेमीमा सर्ट कोर्समा भएको महिला ८०० मिटर फ्रिस्टाइलमामा एस्लीले १० मिनेट ३०.६४ सेकेन्डको समय निकाल्दै चौथो स्वर्ण हात पारेकी हुन् । सो इभेन्टमा नेपाल पुलिस क्लबकी आर्या महर्जनले १० मिनेट ४१.६२ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै समिरा सोभ थापा मगरले १० मिनेट ५७.६४ सेकेन्डको समय निकाल्दै काश्य जितिन् । यसअघि उनले ५० मिटर बटरफ्लाई, १०० मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् ।

त्रिभुवन आर्मी क्लबकी खेलाडी गौरिका सिंहले महिला १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी छिन् । उनले निर्धारित दूरी १ मिनेट ०५.५० सेकेन्डमा पूरा गरिन् । सोही इभेन्टमा गैह्रआवासीय नेपाली संघ (एनआरएनए)की एस्ली सापकोटा डंगोलले रजत पदक जितेकी छिन् । उनले १ मिनेट ०८.७९ मा निर्धारित दूरी पूरा गरिन् । त्यस्तै, त्रिभुवन आर्मी क्लबकी अनुशिया तण्डुकारले १ मिनेट १३.८० सेकेन्डमा पूरा गरेकी थिइन् ।

आइटिएफमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण

May be an image of 7 people, people standing and indoor

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दो अन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन र गण्डकी प्रदेशले एक स्वर्ण जितेको छ । नीलो पेटीतर्फ नेपाली सेनाका धनसिँह परियार, कालो पेटी पहिलो डानमा सेनाकै भीमबहादुर तामाङ र निलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् ।

रातो पेटीतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक र लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत पदक हाँसिल गरेका छन् । नीलो पेटीमा प्याट्रनतर्फ लुम्बिनीका सफल परियारले रजत, कालो पेटीमा गण्डकी प्रदेशका प्रविण बुढाले रजत र निलो पेटी महिलामा गण्डकीकै मोनिका कुँवरले रजत पदक प्राप्त गरेको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् ।

आइटिएफका एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका बाँकी खेल आइतबारदेखि सुरु हुदैछन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफ तेक्वान्दोमा २९ स्वर्ण, २९ रजत र ५८ कास्य पदकका लागि खेल हुनेछ ।

सेपाकताक्रो

सेपाकताक्रोको महिला पुरुष डबलतर्फको दुवै स्वर्ण आर्मीलाई

पूर्वी नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तगरत सेपाकताक्रो पुरुष र महिला डबलतर्फका दुवै स्वर्ण त्रिभुवन आर्मी क्लबले जितेको छ । पुरुषतर्फको डबलमा विभागीय टिम आर्मीले प्रदेश १ लाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो । आर्मीका लागि पुरुष डबलतर्फ अनिल जर्घा मगर, रोशन तामाङ्ग र दिपेश जंग थापाले स्वर्ण दिलाए । पुरुषतर्फ रजत पदक प्रदेश नं १ र कास्य पदक पदक बागमतीले हात पारेका छन् ।

महिला डबलतर्फ पनि आर्मीले बागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ । महिलातर्फको डबलमा विभागीय टिम आर्मीले बागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो । आर्मीका लागि महिला डबलतर्फ चन्दा चौधरी, सुमिना डंगोल र सोममाया थापाले स्वर्ण दिलाए । महिलातर्फ बागमतीलाई रजत र गण्डकीले कास्य पदक हात पारेका छन् ।

महिला र पुरुषका फरक–फरक ३ विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छ्न् ।

साइकलिङ

May be an image of 3 people and people standing

बागमतीकी लक्ष्मी मगरले आइतबार नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत साइक्लिङको महिला क्रसकन्ट्रीमा स्वर्ण पदक जितेकी छिन् । मगरले तीन वर्षअघि नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी थिइन । पोखराको रानीबनमा जारी साइक्लिङ प्रतियोगिताअन्तर्गत महिलाको १५ किलोमिटर दुरी एक घण्टा ९ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्दा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी उशा खनालले रजत पदक जितिन । उशाले १ घण्टा १२ मिनेट ३९ सेकेन्डमा दुरी पार गरेकी थिइन । त्यस्तै सशस्त्र प्रहरी बल (एपिएफ)की हुमी बुढामगरले १ घण्टा २० मिनेट ०४ सेकेन्डको टाइमिङका साथ कांस्य पदक जिते ।

आजै पुरुषतर्फ १९ किलोमिटरको दुरी एपिएफका सुरज राना मगरले १ घण्टा ९ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्दा सागको ट्रायथलनमा स्वर्ण पदक विजेता आर्मीका हिमाल टमाटा रजत पदकमा सीमित भए । उनले १ घण्टा ११ मिनेट ४३ सेकेन्डमा दुरी पूरा गरेका थिए । यसैगरी एपिएफका लक्ष्मण मल्लले १ घण्टा १३ मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पूरा गरेर कांस्य पदक जिते ।

प्रतियोगिताअन्तर्गत हिजो महिला/पुरुष डाउनहिलका खेलहरु सम्पन्न भएका थिए । महिला डाउनहिलमा आर्मीकी गृष्मा श्रेष्ठले स्वर्ण, आर्मीकै उशा खनालले रजत तथा गण्डकीकी जमुना थापाले कांस्य पदक जितेका थिए । यसैगरी पुरुष डाउनहिलमा आर्मीका राजेश मल्लले स्वर्ण, बागमतीका निरभ श्रेष्ठले रजत तथा एपिएफका प्रतिक थापा मगरले कांस्य पदक जितेका थिए । साइक्लिङका कुल आठ स्वर्ण पदकमध्ये चारवटाको छिनोफानो भइसकेको छ भने बाँकी चार पदकका लागि मंगलबार र बुधबार खेल हुनेछन् । तालिकाअनुसार मंगलबार महिला र पुरुष दुवैको व्यक्तिगत टाइम ट्रायल तथा बुधबार महिला र पुरुष दुवैको रोडरेस हुनेछन् । प्रतियोगितामा सोमबार भने कुनै खेल हुने छैनन् । आइतबारसम्म सम्पन्न खेलको नतिजाअनुसार साइक्लिङमा दुई स्वर्ण र तीन रजत पदकका साथ आर्मी सबभन्दा अगाडि छ । एपिएफले एक स्वर्ण तथा तीन कांस्य पदक जित्दै दोस्रो स्थानमा रहँदा बागमती प्रदेशले एक स्वर्ण र एक रजत पदक जितेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.