नवौं राष्ट्रिय खेलकुदमा ३८ खेलमा प्रतिस्पर्धा हुने
काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा २ प्रदर्शनी खेलसहित ३८ खेलमा प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राखेपको ११२ औं बोर्ड बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सो कुरा बताएका हुन ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ३६ खेलको प्रतियोगिता र २ प्रदर्शनी खेलसहित ३८ खेल नवौं राष्ट्रिय खेलकुदमा समावेश गरिएको जानकारी गइएको छ ।
आठौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा भएका ३५ खेललाई निरन्तरता दिदै रग्बी सेभेन ए साइड थपिएको छ । प्रदर्शनी खेलमा ठेलो र क्यानोइङ रहेका छन् ।
राखेपको बोर्ड बैठक शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बैठक बसेको थियो । २०७५ सालपछि राखेपको बोर्ड बैठक पहिलो पटक बसेको हो । सदस्य–सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदमा अनुमानित ६ हजार ८ सय खेलाडी, १ हजार प्रशिक्षक, ५ सय व्यवस्थापक, १ सय १४ संघका प्रतिनिधि र १ हजार निर्णायक सहभागी हुने जानकारी दिए ।
त्यस्तै चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदमा नेपालले २३ खेलमा सहभागिता जनाउने बताइएको छ । त्यसमा अनुमानित १ सय ५० खेलाडी, २८ प्रशिक्षक र २० व्यवस्थापक सहभागी हुनेलगायतका निर्णय बोर्ड बैठकले गरेको छ । नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म हुने छ ।

टिप्पणी लेख्नुहोस्