लेख विवरण

नवौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा पुलिस र आर्मीको जित

नवौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा पुलिस र आर्मीको जित

काठमाडौं । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्याङजाको वालिङमा बिहीबार सुरु भएको महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रेखा पौडेलको ह्याट्रिक प्रेरित पुलिसले बागमती प्रदेशमाथि ५–० को जित हासिल गरेको छ । टोलीका लागि निरु थापाले दुई गोल गरिन ।

१७ औं मिनेटमा निरुले गोल गर्दै दिलाएको अग्रतालाई रेखाले १८औं मिनेटमा दोब्बर पारिन । त्यसको तीन मिनेटपछि दोस्रो व्यक्तिगत गोल गरेकी रेखाले २३औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन । निरुले दोस्रो व्यक्तिगत गोल मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा गरेकी थिइन । जितपछि पुलिसले समूह ‘ए’मा अंकको खाता खोलेको छ ।

प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा बिभागीय टोली नेपाल आर्मीले सहज जित निकालेको छ । आर्मीले मधेश प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको हो । आर्मीले खेलको ९ औ मिनेटमा इन्दिरा राईको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा पुनः गोल गर्दै इन्दिराले अग्रता दोब्बर पारिन् । पहिलो हाफमा दुई गोलले अगाडि रहेको आर्मीलाई खेलको ५२ औ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै ३–० को स्थितिमा पु¥याइन् । खेलको ५५ औ मिनेटमा चन्द्रा भण्डारीको पासमा कुस्मा खतिवडाले गोल गरिन् ।

चौथो गोल गरेको दुई मिनेटमै अमिसा कार्कीले मैदानको मध्य भागबाट एक्लै गोलकिपरलाई विट गर्दै गोल गरिन् । कार्की खेलको ४६ औ मिनेटमा मैदानमा प्रवेश गरेकी थिइन् । इन्दिरा राईको ठाउँमा ६७ औं मिनेटमा मैदान प्रवेश गरेकी हिमा चौधरीले उत्तरार्धको इन्जुरी टाईमको एक मिनेटमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरिन् । मधेश प्रदेशले भने पाएका अवसर खेर फाल्यो । महिला फुटबलमा सात प्रदेश र तीन बिभागिय टोलीको सहभागीता रहेको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.