लेख विवरण

नितिश र रिङ्कुको उत्कृष्ट प्रदर्शनमा केकेआरले सिएसकेलाई हरायो

नितिश र रिङ्कुको उत्कृष्ट प्रदर्शनमा केकेआरले सिएसकेलाई हरायो

काठमाडौंँ । कोलकाता नाइट राइडर्स (केकेआर) ले जारी आईपीएल सिजनमा चेन्नई सुपर किंग्स (सिएसके) लाई ६ विकेटले पराजित गर्दै आफ्नो अघिल्लो हारको बदला लिएको छ। १४५ रनको लक्ष्य पछ्याएको केकेआरले कप्तान नितिश राणा र रिंकु सिंहको उत्कृष्ट इनिङ्सको आधारमा यो लक्ष्य पुरा गरेको हो । दुवै खेलाडीबीच चौथो विकेटका लागि ९९ रनको साझेदारी भयो । केकेआरले यो लक्ष्य १८.३ ओभरमा पुरा गर्‍यो।

१४५ रनको लक्ष्य पछ्याएको कोलकाताले सुरुवात राम्रो गर्न सकेन । ४ रनको स्कोरमा केकेआरलाई पहिलो झटका लागेको थियो । इनिङ्सको पहिलो ओभरमा रहमानउल्लाह गुरबाज मात्र १ रन बनाएर प्याभिलियन फर्किए । २१ रनको स्कोरमा कोलकातालाई दोस्रो झटका वेंकटेश अय्यरको रूपमा लाग्यो, उनी पनि ९ रन बनाएर आउट भए । ३३ रनको स्कोरमा कोलकातालाई जेसन रोयको रूपमा तेस्रो झटका लाग्यो। केकेआरको टोलीले पहिलो ६ ओभरमा ३ विकेट गुमाएर ४६ रन मात्र जोड्न सकेको थियो ।

पहिलो ६ ओभरमा ३ विकेट गुमाएपछि कोलकाताको इनिङ्सलाई कप्तान नितिश राणा र रिंकु सिंहले सम्हाल्दै टोलीको स्कोर १० ओभरमा ६७ रनमा पुर्याएका थिए । त्यहाँबाट रिंकुले एक छेउबाट तीव्र गतिमा रन बनाउन सुरु गरे । केकेआरले १५ ओभरको अन्त्यमा ३ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

आफ्नो उत्कृष्ट लयलाई जारी राख्दै रिंकु सिंहले यो खेलमा ३९ बलमा अर्धशतक पूरा गरे । उनी ४३ बलमा ५४ रन बनाएर रनआउट हुँदै प्याभिलियन फर्किए । नितिश राणा र रिंकुबीच चौथो विकेटका लागि ७६ बलमा ९९ रनको साझेदारी भएको थियो ।

नितिश राणाले अविजित ५७ रनको इनिङ खेल्दै टोलीलाई ६ विकेटले जित दिलाए । चेन्नई सुपर किंग्सका लागि दीपक चाहरले ३ विकेट लिए ।

चेन्नई सुपर किंग्सको इनिङ्समा शिवम दुबेको ब्याटबाट चमत्कार देख्न पाइयो । चेन्नईको टोलीले ७२ रनको स्कोरमा ५ विकेट गुमाएको थियो । शिवमले रविन्द्र जडेजासँग छैटौं विकेटका लागि ६८ रनको साझेदारी गर्दै टोलीलाई अगाडी पुर्‍याएका थिए। शिवमले अविजित ४८ रनको इनिङ खेले । केकेआरका लागि सुनिल नारायण र वरुण चक्रवर्तीले २–२ विकेट लिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.