लेख विवरण

नेदरल्याण्ड्सका स्टिभन मेबर्गले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

नेदरल्याण्ड्सका स्टिभन मेबर्गले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

काठमाडौं । नेदरल्याण्डका ब्याट्सम्यान स्टिभन माइबर्गले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन । उनले आफ्नो परिवारसँग थप समय बिताउन अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन् । तर, उनले क्लब स्तरमा खेल्ने क्रम जारी राख्ने छन । माइबर्गको जन्म दक्षिण अफ्रिकामा भएको हो ।

टी–२० विश्वकपमा नेदरल्याण्डले दक्षिण अफ्रिकालाई हराएको भोलिपल्ट उनले सन्यासको घोषणा गरेका हुन् । उक्त खेलमा मेबर्गले ३० बलमा ३७ रन बनाएका थिए ।

उनले इन्स्टाग्राममा लेखेका छन्, "मैले १७ सिजनअघि प्रथम श्रेणीमा डेब्यु गरेको थिएँ र १२ सिजनअघि अन्तर्राष्ट्रिय डेब्यु गरेको थिएँ। टी–२० विश्वकपमा दक्षिण अफ्रिकालाई हराएपछि सन्यास लिन्छु भनेर मैले सपनामा पनि सोचेको थिएन। म मेरो परिवार, साथीहरू, संघ र प्रशंसकहरूलाई धन्यवाद दिन चाहन्छु।"

३८ वर्षिय माइबर्गले सन् २०११ मा अन्तर्राष्ट्रिय क्रिकेट डेब्यु गरेका थिए । उनले २२ ओडिआई र ४५ टी-२० खेलेका छन। प्रिटोरियामा जन्मेका मेबर्गले सन् २००६ मा नील वाग्नर र पल ह्यारिससँग खेल्दै प्रोभिन्सियल च्यालेन्ज लिगबाट आफ्नो क्रिकेट करियर सुरु गरेका थिए ।

उनले यसै वर्षको सुरुवातमा न्युजिल्याण्डसँगको सिरिजपछि एकदिवसीय क्रिकेटबाट सन्यास लिएका थिए । टी-२० अन्तर्राष्ट्रियमा मेबर्गले २१.७८ को औसतमा ९ सय १५ रन बनाएका छन्। उनी म्याक्स ओडाउड र बेन कुपरपछि नेदरल्याण्ड्सका लागि टी-२० अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी हुन्।

सन् २०१४ को टी-२० विश्वकपमा उनले आयरल्याण्ड विरुद्ध १७ बलमा अर्धशतक बनाएका थिए, जुन त्यसबेलाको दोस्रो द्रुत अर्धशतक थियो। त्यसपछि उनले सुपर १० को खेलमा २३ बलमा ६३ रनको इनिङ खेलेका थिए।

जारी टी–२० विश्वकपमा उनले तीन खेलमा ५१ रन बनाएका छन । टी–२० विश्वकपमा नेदरल्याण्ड्सले पहिलो चरणमा नामिबिया र युएईलाई पराजित गर्दै सुपर १२ मा प्रवेश गरेको थियो भने समूह २ मा पाँच खेलमा दुई जित हात पार्दै चौथो स्थानमा रहेको थियो ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.