नेपालले सिंगापुरलाई ९६ रनले हरायो
काठमाडौं । नेपालले युएईमा जारी आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
ईडन ग्राडेन ओभल अजमान मैदानमा शुक्रबार भएको खेलमा नेपालले सिंगापुरलाई ९६ रनले हरायो । नेपालले दिएको दुई सय ६२ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिंगापुरले ५० ओभरमा सात विकेटको क्षतिमा एक सय ६५ रनमा समेटिएको थियो ।
सिंगापुरका लागि आर्यन मोदीले ५८ रन बनाए । सिद्धान्त श्रीकान्तले ४४, अर्जुन नागपल र अवुद्ध चाजेरले १४र१४ रन बनाए । बलिँमा नेपालका हेमन्त धामी र सुवास भण्डारी दुई दुई तथा विशाल बिक्रम केसीले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ६१ रनको सम्मानजनक स्कोर बनाएको थियो । नेपालका लागि आकाश त्रिपाटीले ७८ रन बनाए । विशाल विक्रम केसीले ६३, अर्जुन कुमाल ३७, कप्तान देव खनालले २१, दिपक बोहोराले १७, सुवास भण्डारीले अविजित १२ र दिपक डुम्रेले १० रन बनाएका थिए ।
बलिङमा सिंगापुरका लागि आर्यभार चौधरी र अभ्युदय छन्जिरले दुई दुई विकेट लिए । छनोट प्रतियोगितामा आयोजक यूएई, नेपाल, सिंगापुर, कुबेत, हङकङ र मलेसियाको सहभागिता रहेको छ ।
नेपालले दोस्रो खेल शनिबार कुवेतसँग खेल्नेछ । राउण्ड रोविन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्षटोली सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट हुनेछ ।

टिप्पणी लेख्नुहोस्