नेपाली टिमलाई भारतमा र रणजी खेल्न अनुमति दिन बिआइसिसीसँग कुरा गरेको छु : मोन्टी देसाइ
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाइले नेपाली टिमलाई भारतमा र रणजी ट्रफी खेल्नका लागि अनुमति दिन आफूले कुरा अगाडि बढाएको बताएका छन्।
नेपालको प्रशिक्षक बनेपछि आइसिसी क्रिकेट विश्वकप लिग–२ मा १२ मध्ये ११ खेल जिताएर नेपाललाई विश्वकप क्वालिफायरमा छनोट गराउन सफल भएपछि देसाइले यस्तो बताएका हुन्।
क्रिकेटसम्बन्धी अनलाइन समाचार पोर्टल क्रिकबजसँग कुराकानी गर्दै उनले नेपाली टिमलाई भारतमा खेल्न अनुमति दिनुपर्ने बताएका छन्।
उनले यसबारे बिसिसिआइका सचिव तथा एसिसीका अध्यक्ष जय शाहका साथै आइसिसीसँग कुराकानीसमेत गरेको उल्लेख गरेका छन्।
‘मैले यसबारे आइसिसी र जय भाइलाई भनेको छु। स्कटल्यान्ड र आयरल्यान्डले इन्ग्ल्यान्डमा खेल्ने अनुमति पाउँदा हाम्रो टिमले पनि भारतमा र रणजी ट्रफी खेल्ने अनुमति पाउनु पर्दछ,’ देसाइले भनेका छन्।
भारतमा खेल्ने अनुमति पाउँदा नेपाली क्रिकेट टिमले चार वर्षभित्र टेस्ट क्रिकेटको मान्यता पाउन सफल हुने उनको भनाइ छ।
‘भारतमा खेल्ने अनुमति पाए हामी चार वर्षभित्र टेस्ट प्लेइङ राष्ट्रको मान्यता प्राप्त गर्न सफल हुने मलाई विश्वास छ,’ देसाइ भन्छन्,‘नेपालसँगै क्रिकेट खेल्न सुरू गरेको अफगानिस्तानका साथै सबै छिमेकी राष्ट्रहरूले यो मान्यता प्राप्त गरिसकेको छ। हामीले भारतमा खेल्ने अनुमति पाउनुपर्छ।’
रणजी ट्रफी भारतको पहिलो श्रेणीको क्रिकेट प्रतियोगिता हो। यो प्रतिस्पर्धामा ३८ टोलीले प्रतिस्पर्धा गर्छन्। यहाँ गरेको प्रदर्शनका आधारमा भारतको टेस्ट टिममा मान्यता बनाउने छन्।
भारतीय टिमका अधिकांश खेलाडीहरू रणजी ट्रफीमा गरेको प्रदर्शनका आधार छनोट हुने गरेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पनि सहयोगका लागि आइसिसी र एसिसीलाई पत्राचार गरेको बताएका छन्।
ठूला राष्ट्रहरूलाई खेलका लागि बोलाउन नसक्ने भएकाले आइसिसी र एसिसीलाई सहयोग गर्न पत्राचार गरेको उनले बताएका हुन्।
‘हामी ठूला टिमहरूलाई आमन्त्रित गर्न सक्दैनौं। मैले सहयोगका लागि आइसिसी र एसिसीलाई पत्र लेखेको छु। उनीहरूले हामीलाई फन्डिङ र कोचिङको क्षेत्रमा मदत गर्नुपर्छ,’ चन्दले भनेका छन्,‘ओमान, युएई र नामिबिया राम्रो टिम भए पनि हाम्रो जस्तो प्रशंसक उनीहरूसँग छैन। हाम्रो टिमले अमेरिकाको हट्सनमा खेल्दा ५–६ नेपाली प्रशंसकहरूको बीचमा मात्र एक जना अमेरिकी प्रशंसक देखिएका थिए।’
विश्वकप क्रिकेट क्वालिफायरका लागि छनोट भएपछि अहिले सरकारलगायत सबै पक्ष पूर्वाधार बनाउनका लागि दबाबमा रहेको चन्दले क्रिकबजसँग भनेका छन्।
‘हामी सबै डेलिभर गर्न दबाबमा छौं। सरकारलाई पनि रंगशाला बनाउन दबाब छ,’ उनले भनेका छन्,‘हामीसँग ठोस पूर्वाधार छैन। हामीसँग आइसिसी मापदण्डको एकमात्र एकदिवसीय मैदान छ।’

टिप्पणी लेख्नुहोस्