नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एकदिवसीय सिरिजमा स्कटल्याण्ड विजयी
काठमाडौं । नेपाल, नामिबिया र स्कटल्याण्डबीच सुरु भएको एकदिवसीय सिरिजको पहिलो खेलमा स्कटल्याण्ड विजयी भएको छ । स्कटल्याण्ले घरेलु टोली नामिबियालाई ४ विकेटले पराजित गरेको हो । नामिबियाले दिएको २१२ रनको लक्ष्य स्कटल्याण्डले ४२.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । टोलिको जितमा ओपनर काइल कोट्जरले ५४ रनको अर्धसतकी पारी खेले । ४४ बलको सामना गरेका उनले १० चौंका र १ छक्का प्रहार गरे । टोलीका लागि कप्तान रिची बेरिङगटन (३६) क्रिस्टोफर म्याकब्राइड (३०) विकेटकिपर म्याथ्यू क्रस (१९) र माइकल लीस्क (१८) रन बनाएर आउट भए । ब्रेन्डन म्याकमुलेन (३१) र मार्क वाट (१०) रनमा अविजित रहे ।
नामिबियाका लागि बलिङमा रुबेन ट्रम्पलम्यान र जन निकोल लोफ्टी-इटनले समान २-२ विकेट लिए । बर्नार्ड शोल्ट्ज़ र टाङगेनी लुङामेनीको नाममा १-१ विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ९ विकेट गुमाउदै २११ रन बनाएको थियो । टोलीका कप्तान गेर्हार्ड इरास्मसले ९६ रनको अविजित अर्धसतकीय पारी खेले । १३० बलको सामना गरेका उनले ९ चौंका र १ छक्का प्रहार गरे । जोन जोनाथन स्मिथ (जेजे स्मिथ)ले ३८ रन बनाए । डिभान ला कक (२१), बर्नार्ड शोल्ट्ज़ (१३), र विकेटकिपर जेन ग्रीन (१२) रन बनाएर आउट भए ।
स्कटल्याण्डका लागि बलिङमा ब्रेन्डन म्याकमुलेन र सफयान शरिफले समान ३-३ विकेट लिए । कृश सोले र माइकल लीकले नाममा एक एक विकेट रह्यो ।
आइसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत १८ औं चरणको यो खेल नामिबियामा भइरहेको छ । सिरिज अन्तर्गत भोलीको खेलमा नेपालले आयोजक नामिबियाको सामना गर्नेछ ।
विश्व क्रिकेट लिग २ को अंक तालिकामा नेपाल १७ अंकका साथ ७ औं स्थानमा रहेको छ । आयोजक नामिबिया चौंथो तथा स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ । विश्व क्रिकेट लिग २ को अंक तालिकामा शिर्ष ३ मा रहने टोलीले भारतमा हुने २०२३ एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने छन । भने बाँकी रहेका ४ टोलीले च्यालेन्ज लिगबाट छनोट भएर आएका अन्य २ टोलीसँग विश्वकप छनोट प्लेअफ खेल्नेछ । विश्वकप छनोट प्लेअफमा उत्कृष्ट २ टोलीले २०२३ एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाउने छ ।

टिप्पणी लेख्नुहोस्