नेपाल टी–२० क्रिकेट लिग : पोखरालाई लुम्बिनीले ३ विकेटले हरायो
काठमाडौं । काठमाडौंमा जारी टी २० क्रिकेट लिगमा लुम्बिनी अल स्टारले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३४ रनको लक्ष्य लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । टोलीलाई जिताउन शाडली भानले ११ बलमा ३१ रनको आक्रमक इनिङस खेले । लुम्बिनीको जितमा कुशल भुर्तेलले सर्वाधिक ३९ रनको योगदान दिए । ओपनर उन्मुक्त चन्द २२ रन बनाए । अनिल साह (१९) र गुलशन झाले (१९) रन बनाए । पोखराको लागि बलिङमा बिपिन खत्री र कुशल मल्लले समान २/२ विकेट लिए । प्रतिश जिसी, अभिमन्यु मिथुन र जाहिर खानले १/१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै १३३ रन बनाएको थियो । टोलीका लागि कुशल मल्लले सर्वाधिक ६१ रनको अर्धसतकीय पारी खेलेका थिए । उपुल थरंगा ४१ रन बनाएर आउट भएका थिए । कुशल र उपुल बाहेका पोखरा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेका थिएनन् । लुम्बिनीका लागि बलिङमा शाडले भानले सर्वाधिक ३ विकेट लिएका थिए । किशोर महतो र गुलशन झाले समान २-२ विकेट लिए । हरमित सिंह र सागर ढकालको नाममा एक एक विकेट रहेको थियो ।
पुस २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स पोखरा रेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ फ्रेन्चाइज टोली सहभागी छन् ।
डबल राउन्ड रोविनको आधारमा जारी प्रतियोगिताको विजेता टोलीले ५५ लाख रुपियाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले ३० लाख, तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।
लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदयीमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्