लेख विवरण

नेपाल टी २० लिग : काठमाडौंको दोस्रो जित

नेपाल टी २० लिग : काठमाडौंको दोस्रो जित

काठमाडौं । काठमाडौैंमा जारी नेपाल टी २० लिगमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई ५३ रनले पराजित गरेको छ । टोलीलाई जिताउन अजमातुल्लाह उमरजाईले सर्वाधिक ३ विकेट लिए । बसिर अहमदले २ विकेट लिए । कमल ऐरि, अबिनाश बोहरा, अनिल खरेल र सुनम गौतमले समान १-१ विकेट लिए । काठमाडौंले दिएको २०९ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले २० ओभरमा अलआउट हुँदै १५५ रन मात्र बनायो । टोलीका लागि समिउल्लाह शिनवारीले सर्वाधिक २९ रन बनाए । सन्दिप जोरा (२६), पवन सर्राफ (२४), शराफुद्दीन अशरफ (१९), मोहम्मद आदिल आलम (१६) र जितेन्द्र मुखिया (१३) रन बनाएर आउट भए ।

यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाउदै २०६ रन बनायो । टोलीका लागि एलेक्स ब्लेकले सर्वाधिक ८३ रनको योगदान दिए । अर्धसतक प्रहार गरेका उनले ४ चौंका र ७ छक्काको मद्दतले ४३ बलमा ८३ रन बनाए । ओपनर विरनदीप सिंह अर्धसतक बनाउनबाट १ रनले चुके । उनले ३४ बलमा ७ चौंका र १ छक्काको मद्दतले ४९ रन बनाए । अजमातुल्लाह उमरजाईले १५ बलमा ४३ रनको अविजित पारी खेले । लोकेश बम १५ रन बनाएर आउट भए । जनकपुरका लागि बलिङमा पवन सर्राफले सर्वाधिक २ विकेट लिए । सोमपाल कामी, जितेन्द्र मुखिया, शराफुद्दीन अशरफ र आदिल आलमले एक एक विकेट लिए । खेलको म्यान अफ द म्याच काठमाडौंका एलेक्स ब्लेक घोषित भए ।

योसँगै काठमाडौंले प्रतियोगितामा दोस्रो जित निकालेको छ । यसअघि टोलीले प्रतियोगिताको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको थियो ।

पुस २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स पोखरा रेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ फ्रेन्चाइज टोली सहभागी छन् ।

डबल राउन्ड रोविनको आधारमा जारी प्रतियोगिताको विजेता टोलीले ५५ लाख रुपियाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले ३० लाख, तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदयीमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.