लेख विवरण

नेपाल पाकिस्तानसँग ९ रनले पराजित

नेपाल पाकिस्तानसँग ९ रनले पराजित

काठमाडौंँ । हङकङमा जारी एसिसी वुमन्स टि–२० इमर्जिङ टिम्स एसिया कप अन्तर्गतको खेलमा पाकिस्तान 'ए' ले नेपाललाई ९ रनले पराजित गरेको छ । मोङकक मैदानमा पाकिस्तानले दिएको ८८ रनको लक्ष्य पुरा गर्न नेपाल असफल रह्यो । दोस्रो इनिङसमा ब्याटिङ गर्ने क्रममा नेपाली महिला टोली २० ओभरमा ६ विकेट गुमाउदै ७८ रनमा रोकियो । टोलीका लागि ओपनर कविता कुँवर (२०) र कविता जोशीले अविजित १५ रन बनाउदा अन्य खेलाडीको प्रदर्शन बिर्सनलायक रह्यो । नेपालका अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानका लागि तुबा हसन र सैयदा आरुब शाहले २–२ विकेट लिँदा आनोशा नासिर र उम्म–ए–हानीले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर २ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । टोलीका लागि ओपनर शवाल जुल्फिकार (२८), कप्तान फातिमा साना (१६), सदफ शामस (१२) र गुल फिरोजाले (११) रनको योगदान दिए । नेपालका लागि ईन्दु बर्माले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १ मेडन सहित ६ रन खर्चेर ३ विकेट लिइन् । कविता कुँवर, कविता जोशी र सिता राना मगरले समान २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच कविता कुँवर भइन् ।

प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा भारत 'ए' र हङकङ भिड्दै छन । नेपालले आफ्नो दोस्रो खेल बिहीवार भारत 'ए' संग खेल्नेछ ।

एशियन क्रिकेट काउन्सिलले आयोजना गरेको प्रतियोगितामा नेपाल, हङकङ, भारत 'ए', पाकिस्तान 'ए', बङलादेश 'ए', श्रीलंका 'ए', युएई र मलेसियाको टोलीले सहभागिता जनाएका छन् । थाईल्यान्डले भिसाको कारण नाम फिर्ता लिएपछि नेपालले सहभागिता जनाउने अवसर पाएको हो ।

नियमित कप्तान रुबीना क्षेत्रीको नेतृत्वमा हङकङ पुगेको नेपाली टोलीमा सिता राना मगर, ईन्दु बर्मा, कबिता कुँवर, बिन्दु रावल, ज्योती पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासैनी, सरस्वती कुमारी चौधरी, अस्मिना कर्माचार्य, ईश्वरी बिष्ट, अप्सरी बेगम र कबिता जोशी रहेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.