लेख विवरण

नेप्लिज तेक्वान्दो एकेडेमी च्याम्पियन

नेप्लिज तेक्वान्दो एकेडेमी च्याम्पियन

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ८ स्वर्ण, ७ रजत र १ कांस्य जित्दै एनटीए समग्रमा एनटीए टिम च्याम्पियन बन्यो ।

श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ४ कांस्यसाथ चन्द्रागिरी दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको एम्बासडरले समान ३–३ स्वर्ण, रजत र कांस्य हात पा¥यो ।

गोकर्णेश्वर नगरपालिकाको प्रायोजन तथा गोकर्णेश्वर नगर खेलकुद विकास समिति र गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा भएको प्रतियोगिताको पुरुषमा एनटीएका भिजन तामाङ तथा महिलामा कोटेश्वरकी इशिका राणा उत्कृष्ट खेलाडी घोषित भए । भिजनले एकल पुम्से र ३२ केजीमुनि तथा इशिकाले ५० केजीमुनि स्वर्ण जिते । दुवैले जनही ५ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक राजु क्षेत्री, गोकर्णेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामा, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, आयोजक डोजाङका प्रमुख एवं प्रतियोगिता संयोजक सुवासचन्द्र गौतमलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

गोकर्णेश्वर नगरपालिका वडा १ को सुन्दरीजलस्थित ओख्रेनी माविमा भएको दुईदिने प्रतियोगिताको गेरोगीमा २१ तथा पुम्से (एकल) मा २ गरी जम्मा २३ स्पर्धामा ३ सय १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

समापनका अवसरमा प्रतियोगिता आयोजक श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालले कान्तिपुर दैनिकका खेल पत्रकार ध्रुवकुमार तुलाधर र तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई सम्मान गरेको छ ।

तुलाधरलाई चक्रबहादुर स्मृति खेलकुद पत्रकार तथा अशोकलाई चक्रबहादुर स्मृति खेलकुद पुरस्कारबाट सम्मानित गरेको हो । दुवैलाई आ–आफ्नो क्षेत्रमा गरेको कार्यको मुल्यांकन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.