नेसनल सिनियर चेस च्याम्पियनसिपमा तण्डुकारको एकल अग्रता
काठमाडौँ । पूर्वराष्ट्रिय च्याम्पियन क्यान्डिडेट मास्टर नवीन तण्डुकारले आइतबार समृद्धि फाइनान्स नेसनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपमा एकल अग्रता बनाएका छन। पाँचौँ चरणको खेलमा अर्का पूर्वराष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्यमाथि जित हात पार्दै तण्डुकारले अग्रता बनाएका हुन ।
नेपाल बुद्धिचाल सङ्घको आयोजना तथा समृद्धि फाइनान्सको मुख्य प्रायोजनमा ५० वर्षमाथि उमेर समूहका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिताको दोस्रो दिन तेस्रो, चौथो तथा पाचौँ चरणका खेल सम्पन्न भए। शतप्रतिशत नतिजा निकालेका तण्डुकारले तेस्रो चरणमा भक्तपुरका बलराम नापित तथा चौथो चरणमा रुपन्देहीका विजय गुरुङलाई पराजित गरे। पाचौँ चरण सकिँदा तण्डुकारको सबभन्दा बढी पाँच अङ्क छ।
दुई खेलमा बराबरीमा रोकिएपश्चात् पूर्वराष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली दोस्रो स्थानमा छन। पाचौँ चरणमा काठमाडौँका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराउन सफल भएका बद्रीलाल तेस्रो चरणमा कास्कीका रामबहादुर क्षेत्रीसँग तथा चौथो चरणमा अर्का पूर्वराष्ट्रिय च्याम्पियन फिडेमास्टर विलमलाल श्रेष्ठसँग अङ्क बाँडे्।
बद्रीलाल तथा विजय गुरुङको समान चाररचार अङ्क भएको छ। विजयले तेस्रो चरणमा काठमाडौँका जनार्दन श्रेष्ठ तथा पाचौँ चरणमा बाँकेका तीर्थबहादुर विकलाई हराए। फिडेमास्टर विलमलाल श्रेष्ठ, पुण्यमान कर्माचार्य, राजेन्द्रप्रसाद श्रेष्ठ, गणेशमान दुवाल, जनार्दन श्रेष्ठ, रामबहादुर क्षेत्री तथा भरत धिमालले समान ३.५ अङ्क बनाएका छन।

टिप्पणी लेख्नुहोस्