न्याभ कप क्रिकेट प्रतियोगिताको उपाधि फार वेस्टलाई
सिडनी । नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को आयोजनामा सम्पन्न १८ औं न्याभ कप क्रिकेट प्रतियोगिताको उपाधि फार वेस्ट हन्टर्सले जितेको छ । मेलबर्नको टीडब्लु ब्लेक मैदानमा भएको फाइनल खेलमा नारे किंग्सलाई ३ विकेटले पराजित गर्दे फार वेस्टले उपाधि जितेको हो ।
पहिले ब्याटिङ गरेको नारे किंग्सले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १ सय २७ रन बनाएको थियो । टोलीका लागि दिपेन रायमाझीले ६२ बलमा सर्वाधिक ७१ रन बनाउदै अविजित रहे । अर्धसतक बनाएका उनले ६ चौका र २ छक्का प्रहार गरे । शिशिर सापकोटाले २० रन बनाए । उनले दिपेनसँग चौथो विकेटका लागि ८३ रनको साझेदारी गरे । अविनाश (४), हरि सापकोटा (६), किरण कँडेल (०) रनमा आउट भए । सन्देश कँडेल ६ रनमा अविजित रहे । फार वेस्टकाका लागि उदय सापकोटा र विजय गिरीले १–१ विकेट लिए ।
नारे किंग्सले दिएको १ सय २८ रनको लक्ष्य फार वेस्टले ५ बलअगाडि पुरा गर्यो । टोलीका लागि ओपनर मोहन विष्टले आक्रमक ब्याटिङ गर्दै सर्वाधिक ४५ रनको योगदान दिए । उनले २ चौका र ५ छक्का प्रहार गरे । निशान्त सिंह (३), नवीन भट्ट (१), वासु गिरी (१०) र कप्तान केशव पन्तले (५) रन बनाए । दीपेश विष्टले ३० बलमा ३ चौका प्रहार गर्दै ३४ रन बनाए । सरोज क्षेत्रीले १७ बलमा ११ र प्रदीप कुँवरले ८ रन बनाउँदै फार वेस्टलाई जित दिलाए ।
नारे किंग्सका लागि बलिङमा कप्तान किरण कँडेलले ३ विकेट लिए । अविनाश पौडेल, राजन कँडेल र सुसन सापकोटाले १–१ विकेट लिए । १० साता लामो प्रतियोगितामा १२ नेपाली समुदायको टोलीहरु सहभागी थिए ।
प्रतियोगितामा माभन क्रिकेट क्लबका संजोग दाहालले उत्कृष्ट ब्याटर, फिल्डरसहित प्लेयर अफ द सिरिजको उपाधि जिते । माभनकै अभिनव शाहले उत्कृष्ट बलरको उपाधि पाए । एक्सपर्ट सगरमाथाका सुदीप न्यौपाने उत्कृष्ट विकेटकिपर बने । फेयर प्लेको उपाधि ग्रेस गोर्खालीले पायो ।
नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को आयोजना, म्याक्सिम्याक एजुकेसन एन्ड भिजा सर्भिसेजको मुख्य प्रायोजन र ब्राइटन कलेजको सहप्रायोजनमा भएको प्रतियोगिताको उपाधि विजेताले ३ हजार र उपविजेताले १ हजार अस्ट्रेलियन डलर पुरस्कार पाए ।
विजेता खेलाडीलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, न्याभका अध्यक्ष प्रेमराज उप्रेती, खेलकुद संयोजक दीप चन्द, म्याक्सिम्याक्सका निर्देशक शंकर धरेल, भिक्टोरियन नेप्लिज क्रिकेट एसोसिएसन (भीएनसीए) का अध्यक्ष सुजित बस्नेतलगायतले पुरस्कृत गरे ।

टिप्पणी लेख्नुहोस्