न्युजिल्यान्डमाथि भारतको ऐतिहासिक जित
काठमाडौंँ । भारत र न्यूजिल्याण्डबीच तीन टी–२० सिरिजको तेस्रो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न भएको छ । खेलमा भारतले पहिले ब्याटिङ र त्यसपछि उत्कृष्ट बलिङ गर्दै टी–२० इतिहासमा सबैभन्दा ठूलो जित दर्ता गरेको थियो । भारतले खेल १६८ रनले जितेको छ । योसँगै भारतले सिरिज पनि २–१ ले आफ्नो नाम गरेको छ ।
खेलमा भारतीय कप्तान हार्दिक पाण्ड्याले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । भारतले युवा ओपनर शुभमन गिलको शतकमा २० ओभरमा चार विकेट गुमाएर २३४ रन बनाएको थियो । शुभमन गिलले ६३ बलमा अविजित १२६ रन बनाए । जवाफमा न्युजिल्यान्डको पुरै टोली १२.१ ओभरमा ६६ रन बनाएर अलआउट भयो । टी-२० मा भारतको यो सबैभन्दा ठूलो जीत हो।
यसअघि भारतले सन् २०१८ मा आयरल्याण्डलाई १४८ रनले हराएको थियो। अर्कोतर्फ टी २० इतिहासमा न्यूजिल्याण्डको सबैभन्दा ठूलो हार हो। यसअघि सन् २०१० मा पाकिस्तानले न्यूजिल्याण्डलाई १०३ रनले पराजित गरेको थियो ।

टिप्पणी लेख्नुहोस्