न्यूजिल्याण्डका सोमरभिल अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिदै
काठमाडौंँ । न्यूजिल्याण्डका अफ स्पिनर विल सोमरभिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । घरेलु शृंखलापछि उनी अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा हुनेछन । उनले सन् २०१८ र २०२१ का बीच ६ टेस्ट खेल्दै १५ विकेट लिएका थिए। यी मध्ये सात अबुधाबीमा पाकिस्तान बिरुद्ध डेब्यु खेलमा रहेको थियो ।
सन्यासको घोषणा गर्दै सोमरभिलले भने, ‘३० वर्षको उमेरमा क्रिकेटर बनेपछि मैले सोचेभन्दा धेरै उपलब्धि हासिल गरेको छु । मैले क्रिकेटरका रूपमा ९ सिजन खेलेको छु र हरेक मिनेट आनन्द लिएको छु।' अकल्याण्डका प्रशिक्षक डग वाट्सनले भने, 'विल एक अलराउन्डर हुन् र निश्चित रूपमा चेन्जिङ रुमका फादर हुन्। उनको शान्त र नम्रताका साथै उनको कुशल बलिङ केटाहरूले धेरै मिस गर्नेछन्।'
सोमरभिलले अस्ट्रेलिया जानु अघि सन् २००४-०५मा ओटागोबाट आफ्नो प्रथम श्रेणी क्रिकेट करियर सुरु गरेका थिए । ६ वर्षको अन्तरालपछि, उनले सन् २०१४–१५ र २०१७–१८ को बीचमा न्यू साउथ वेल्सका लागि क्रिकेट खेले। उनले बीबीएलमा सिड्नी सिक्सर्सका लागि खेलेका थिए।
स्वदेश फर्केपछि सोमरभिलले सन् २०१८–१९ मा अकल्याण्डका लागि खेले। त्यहाँ खेल्दै गर्दा उनी पाकिस्तानविरुद्धको शृंखलाका लागि पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भए। सन् २०२० को सुरुमा उनले एमसीजीमा अस्ट्रेलियाविरुद्ध खेल्ने अवसर पाएका थिए। उनले आफ्नो अन्तिम टेस्ट भारत विरुद्ध मुम्बईमा सन् २०२१ को अन्तमा खेलेका थिए।

टिप्पणी लेख्नुहोस्