न्यूजिल्याण्ड भ्रमणका लागि श्रीलंकाली टोली घोषणा, दुई नयाँ खेलाडीलाई मौका
काठमाडौंँ । श्रीलंका क्रिकेट बोर्डले न्यूजिल्याण्ड विरुद्ध हुने दुई टेष्ट सिरिजका लागि १७ सदस्यीय टोली घोषणा गरेको छ । शनिबार घोषणा गरिएको टोलीमा दुई नयाँ खेलाडी समावेश भएका छन् । चार वर्षको लामो अन्तरालपछि श्रीलंकाली टोली टेस्ट सिरिज खेल्न न्युजिल्यान्ड भ्रमण गर्दैछ ।
दिमुथ करुणारत्नेको कप्तानीमा रहेको टोलीमा २३ वर्षीय निशान मधुशंका र २६ वर्षीय मिलन रथनायकेलाई समावेश गरिएको छ । सन् २०१८ को न्युजिल्यान्ड भ्रमणमा श्रीलंकाले १–० को अन्तरले सिरिजमा हार बेहोरेको थियो । सिरिजको पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोस्रो खेल आयोजक न्यूजिल्याण्डले ४२३ रनको ठूलो अन्तरले जितेको थियो । त्यसपछि सन् २०१९ अगस्टमा न्युजिल्याण्डले श्रीलंकाको भ्रमण गरेको थियो । दुई खेलको त्यो शृङ्खला १–१ को बराबरीमा सकिएको थियो । यस्तो अवस्थामा यसपटक पनि यी दुई टोलीबीच कडा टक्कर हुने सम्भावना रहेको छ ।
न्यूजिल्याण्ड भ्रमणको क्रममा श्रीलंकाली टोलीले दुई टेष्ट, तीन एकदिवसीय र तीन टी–२० खेल्नेछ । पहिलो टेस्ट क्राइस्टचर्चमा ९ मार्चबाट सुरु हुनेछ । त्यसपछि दोस्रो टेष्ट १७ मार्चदेखि वेलिंगटनमा खेलिनेछ । टेष्ट शृंखला अघि श्रीलंका टोलीले मार्च ४ देखि क्राइस्टचर्चमा न्यूजिल्याण्ड ११ विरुद्ध दुईदिने अभ्यास खेल खेलेर आफ्नो तयारीलाई पनि अन्तिम रूप दिनेछ ।
न्यूजिल्याण्ड भ्रमणका लागि श्रीलंकाली टोली ः दिमुथ करुणारत्ने (कप्तान), ओशदा फर्नान्डो, कुसल मेन्डिस, एन्जेलो मैथ्यूज, धनन्जय डिसिल्वा, दिनेश चन्डीमल, कमिन्दु मेन्डिस, निरोशन डिकवेला, निशान मदुशंका, रमेश मेन्डिस, प्रभात जयसूर्या, चमिका करुणारत्ने, कसुन रन्जिथा, लहिरू कुमारा, असिथा फर्नान्डो, विश्व फर्नान्डो र मिलन रत्नायके।

टिप्पणी लेख्नुहोस्