न्यू डायमण्डलाई यू–१८ महिला भलिबल उपाधि
काठमाडौं । आयोजक न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । डायमण्डले निर्माणधीन भलिबल कोर्टमा शनिबार भएको फाइनलमा एभरेस्ट मावि बुटवललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
पुरानो नैकापस्थित न्यु डायमण्डको निर्माणधीन कोर्टमा डायमण्डले एभरेस्टलाई २५–१९, २५–२०, २१–२५ र २६–२४ ले पराजित गर्दै उपाधि जित्न सफल भयो । उपाधिसँगै च्याम्पियन डायमण्डले ५ लाख रुपैया, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको एभरेस्टले २ लाख ५० हजार, तेस्रो भएको धादिङ स्पोर्ट्स क्लबले १ लाख तथा चौथो भएको ब्राइट फ्युचर मावि मोरङले ५० हजार रुपैया प्राप्त गरेको छ । शनिबारै धादिङले ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई २५–१०, २५–१३ र २५–६ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।
डायमण्डकी जेनिशा विश्वकर्मा च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । उनले २५ हजार र ट्रफी प्राप्त गरिन् । धादिङकी सजिना बुढाथोकी उदियमान खेलाडी घोषित भइन् । उनले १५ हजार रुपैया र ट्रफी हात पारिन् ।
डायमण्डकी सलिना बुढामगर उत्कृष्ट सर्भर, डायमण्डकै प्रगति नाथ सेटर, डायमण्डकै एन्जिला प्रधान उत्कृष्ट डिफेन्डर र डायमण्डकै कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । एभरेस्टकी निशा चौधरी उत्कृष्ट स्पाइकर र ब्राइट फ्युचरकी सोनिया बस्नेत उत्कृष्ट ब्लकर घोषित भइन् । उनीहरु सबैले समान १० हजार रुपैया र ट्रफी प्राप्त गरे ।
फागुन ९ गतेबाट शुरु भएको च्याम्पियनसिपमा ७ टोलीले सहभागिता जनाएको थियो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको थियो । च्याम्पियनसिप आयोजना गराउनुको मुख्य उद्देश्य क्लबको निर्माणधीन खेल मैदान निर्माण सहयोगार्थ तथा जुनियर स्तरबाटै खेलाडी उत्पादनको लागि रहेको क्लबले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्