न्यू साउथ वेल्सका पूर्व प्रधानमन्त्री क्रिकेट अष्ट्रेलियाको अध्यक्ष बन्दै
काठमाडौं । क्रिकेट अष्ट्रेलिया (सीए)का वर्तमान अध्यक्ष लचलान हेन्डरसनले आइतबार आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् । योसँगै सिएले उनको स्थान न्यू साउथ वेल्सका पूर्व प्रधानमन्त्री माइक बेयर्डले ल्याउने भएको छ ।
हेन्डरसनले हालै पर्थस्थित स्वास्थ्य बीमा प्रदायक एचबीएफको सीईओ पद ग्रहण गरेकाले समय दिन नसक्ने बताए। "मैले भर्खरै मेरो गृहनगर पर्थमा नयाँ जिम्मेवारी लिएको छु र मलाई क्रिकेट अष्ट्रेलियाको काममा पर्याप्त समय दिन गाह्रो भएको छ, त्यसैले मैले यो भूमिका अरू कसैलाई दिने निर्णय गरेको छु," हेन्डरसनले भने।
गत फेब्रुअरीमा अर्ल एडिङ्सको राजीनामापछि ह्यान्डरसनले अन्तरिम अध्यक्ष रिचर्ड फ्रिडेनस्टाइनबाट अध्यक्ष पदको पदभार ग्रहण गरेका थिए।
हाल बोर्ड सदस्य समेत रहेका बेयर्डले अध्यक्ष पदका लागि क्रिकेट अष्ट्रेलियाका सबै निर्देशक र प्रान्तीय प्रमुखहरूको समर्थन पाएका छन्। उनले आगामी फेब्रुअरीमा आफ्नो पदभार ग्रहण गर्नेछन् । १८ महिनाभन्दा कम समयमा यो पद सम्हाल्ने उनी चौथो व्यक्ति हुनेछन्।
५४ बर्षीय बेयर्ड सन् २०१४ देखि २०१७ सम्म न्यू साउथ वेल्सका प्रधानमन्त्री थिए। उनी २०२० मा क्रिकेट अस्ट्रेलियाको बोर्डमा आबद्ध भएका थिए।

टिप्पणी लेख्नुहोस्