लेख विवरण

पदक विजेता खेलाडीलाई समस्या, आफ्नो भविष्यका लागि भौतारिन पर्ने बाध्यता

पदक विजेता खेलाडीलाई समस्या, आफ्नो भविष्यका लागि भौतारिन पर्ने बाध्यता

महेन्द्रनगर । चौधौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक विजेता कञ्चनपुरकी सङ्गीता धामी जागिरका लागि दौडधुपमा छिन । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलकुदमा प्रतिभावान् खेलाडीका रुपमा परिचय बनाएपछि उनको मुलुकभित्रै जागिर खाएर घरव्यवहार चलाउने सपना भने अझै पूरा हुनसकेको छैन।

केही समयअघि म्यादी प्रहरीमा भर्ना भएकी सङ्गीता अहिले पनि जागिरकै खोजीमा छिन । कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्द राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक विजेता यहाँका अधिकांश सिनियर खेलाडी जागिरको आसमा रहेको बताउछन । “ सङ्गीताजस्तै सबै खेलाडी जागिरकै खोजीमा हिँडेका छन् ।” उनी भन्छन, “ डिप्लोमा कोर्स गरेका खेलाडी पनि खेलकुद क्षेत्रमै जागिर खुल्ला र प्रतिस्पर्धा गरौँला भनेर बसेका छन् ।”

खेलकुदमा मेहनत गरेर मुलुकको नाउँसमेत चर्चामा ल्याउने खेलाडीको भविष्य भने अन्धकारजस्तै रहेको सिनियर खेलाडीको गुनासो छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडी लक्ष्मी खत्रीले भारतको पटियालामा डिप्लोमा कोर्स गरेको तीन वर्ष भइसक्यो । “खेलकुद क्षेत्रमा डिप्लोमा कोर्स गरेपछि जागिरका लागि योग्य होइन्छ भन्थे ।” उनी भन्छिन, “ विज्ञापन खुल्ला र दिउँला भन्दै बसेपनि अहिलेसम्म केही सुरसार देखिँदैन् ।” खेलाडीले आफ्नो भविष्यका लागि भौतारिन पर्ने बाध्यता रहेसम्म मुलुकमा खेलकुदको विकास हुन नसक्ने लक्ष्मी बताउछिन ।

“खेलकुद क्षेत्रमै विज्ञापन खुल्ला र दिउँला भनेर आशमा बसेको छु ।” उनी भन्छिन, “यहाँ अवसर उपलब्ध नभए विदेशिनाको विकल्प छैन् । विभागीय टोलीमा खेलाडी आवद्ध भएर केही राहत भए पनि धेरै राम्रा खेलाडी भविष्य खोज्दै विदेशिएका र अरु पनि योग्यता पुगेका खेलाडी रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता छ ।” सन् २०२० मा डिप्लोमा कोर्स सकेकी खत्री एक वर्ष दुबई बसेर फर्किएकी हुन ।

त्यसैगरी नवौंँ र आठौँ राष्ट्रियमा भारोत्तलनमा स्वर्ण जित्ने यहाँका दुई पुरुष खेलाडी पनि अष्ट्रेलिया पलायन हुने तयारीमा रहेको भारोत्तलन प्रशिक्षक जीवन गौतम बताउछन । “विसं २०४० पछि फुटबल, भलिबललगायत खेलका खेलाडीलाई ‘कर्पोरेट हाउस’मा जागिर दिइन्थ्यो।” अहिले खेलाडीका लागि कुनैखाले अवसर नभएकाले आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता अशोक भण्डारी र नवौँ राष्ट्रियमा स्वर्ण पदक विजेता विकास भट्ट पनि पलायन हुने अवस्थामा पुगेको उनी बताउछन ।

“अर्का राष्ट्रियस्तरको पदक विजेता सुवास उपाध्याय जीम हाउस खोल्ने तयारीमा छन ।”

प्रशिक्षक गौतम भन्छन, “खेलाडीले खेलकुदमा जति सफलता हासिल गरे पनि उनीहरुको भविष्यको बाटो तय गरिएन्।” यहाँस्थित जिल्ला खेलकुद विकास समितिका कार्यालयका प्रमुख गोपालदत्त भट्ट कञ्चनपुरले पाँच सय भन्दाबढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसके पनि खेलाडी अवसरको खोजीमा पलायन भएको बताउँदै क्षमतावान्, र प्रतिभावान् खेलाडीलाई मुलुकभित्रै रोजगारीको अवसर दिने वातावरण बनाउन पहल हुनुपर्नेमा जोड दिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.