पहिलो एकदिवसीयमा श्रीलंकाको लज्जास्पद हार
काठमाडौंँ । न्यूजिल्याण्ड र श्रीलंकाबीच जारी तीन खेलको एकदिवसीय शृङ्खलामा घरेलु टोली न्युजिल्यान्डले विजयी सुरुवात गरेको छ । शृङ्खला अन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डले जित निकाल्दै सिरिजमा १–० को अग्रता लिएको छ । खेलमा श्रीलंकाले १९८ रनको लज्जास्पद हार बेहोरेको छ ।
अकल्याण्डको इडेन पार्कमा खेलिएको खेलमा न्युजिल्याण्डले पहिले ब्याटिङ गर्दै श्रीलंकालाई लागि २७५ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको श्रीलंकाली टोली १९ दशमलव ५ ओभरमा ७६ रनमै सिमित भयो । रनको हिसाबले श्रीलंकाको यो पाँचौं ठूलो हार हो।
एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड यो सातौं ठूलो जित हो। पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले फिन एलेन र ड्यारिल मिचेलको बलियो इनिङ्सका कारण ४९.३ ओभरमा २७४ रन बनाएको थियो ।
२ सय ७५ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुवात फ्लप रह्यो। टोलीका दुबै ओपनर स्कोर बोर्डमा मात्र १३ रन रहदा प्याभिलियन फर्किए । यसपछि कुसल मेन्डिस खाता नखोली नै प्याभिलियन फर्किए । टोलीका लागि एन्जेलो म्याथ्युजले सर्वाधिक रन बनाए । उनले २५ बलमा ३ चौका सहित १८ रन बनाए । न्युजिल्याण्डका लागि हेनरी सिप्लेले ५ विकेट लिए भने डेरिल मिचेल र ब्लेयर टिकनरले २–२ विकेट लिए ।
श्रीलंकाली टोलीको कमजोर ब्याटिङका कारण बलरहरुको मिहिनेत पुरै खेर गयो । श्रीलंकाका लागि चमिका करुणारत्नेले ९ ओभरमा ४३ रन दिएर ४ विकेट लिए। करुणारत्नेका अलावा लाहिरु कुमारा र कसुन रजिथाले २–२ विकेट लिए । त्यस्तै दिलशान मदुशंका र दासुन शनाकाले एक एक विकेट लिए । न्यूजिल्याण्डका लागि फिन एलेन (५१)ले सर्वाधिक रन बनाए ।

टिप्पणी लेख्नुहोस्