पाकिस्तान बिरुद्ध अफगानिस्तानको लगातार दोस्रो जित
काठमाडौंँ । पाकिस्तान बिरुद्धको टि २० सिरीजमा अफगानिस्तानले दोस्रो जित निकालेको छ । शारजाहमा सम्पन्न खेलमा पाकिस्तानमाथी अफगानिस्तानले ७ विकेटको जित निकालेको हो । टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १३० रन बनाएको थियो । जवाफमा अफगानिस्तानले १३१ रनको लक्ष्य १९.५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । टोलीको जितमा ओपनर तथा विकेटकिपर रहमानउल्लाह गुरबाज सर्वाधिक ४४ रनको योगदान दिए । इब्राहिम जाद्रानले ३८ रन बनाए । नजिबुल्लाह जद्रान (२३) र मोहम्मद नाबी (१४) रनमा अविजित रहे ।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि इमाद वासिमले ६४ रनको अविजित पारी खेले । ५७ बलको सामना गर्ने क्रममा उनले ३ चौंका र २ छक्का प्रहार गरे । टोलीका कप्तान सादाब खान ३२ रन बनाएर आउट भए । ओपनर मोहम्मद हरिस (१५), तय्यब ताहिर (१३) रन बनाएर आउट भए । अफगानिस्तानका लागि बलिङमा फजलहक फारुकीले २ विकेट लिए ।
नवीन उल हक, राशिद खान र करिम जनातले समान एक-एक विकेट लिए ।
पाकिस्तानका लागि बलिङमा जमान खान र इहसानुल्लाहले समान १-१ विकेट लिए । जितसँगै अफगानिस्तान ३ खेलको श्रंखलमा २-०ले अग्रता लिएको छ । यसअघि शुक्रवार भएको पहिलो खेलमा अफगानिस्तानले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।

टिप्पणी लेख्नुहोस्