पाकिस्तान विश्वकपको खेल तालिका परिवर्तन गर्न चाहन्छ
काठमाडौंँ । विश्वकपका क्रममा पाकिस्तानले चेन्नई र बेंगलोरमा हुने आफ्नो खेल परिवर्तन गर्न अनुरोध गरेको छ । पाकिस्तानले अक्टोबर २० मा अस्ट्रेलियासँग बेंग्लोरमा र अफगानिस्तानसँग अक्टोबर २३ मा चेन्नईमा खेल्ने तालिका थियो । तर उनीहरू अफगानिस्तानविरुद्ध बेंग्लोरमा र अस्ट्रेलियाविरुद्ध चेन्नईमा खेल्न चाहन्छन् ।
यद्यपि पीसीबीले यो अनुरोधको पछाडि कुनै विशेष कारण दिएको छैन, ईएसपीएनक्रिकइन्फोका अनुसार पाकिस्तानले उनीहरूलाई यी दुई खेलमा 'फेवरेट' रहन चाहन्छ। यो जानकारी पीसीबीको आन्तरिक पत्राचारबाट प्राप्त भएको क्रिकइन्फोले जनाएको छ ।
यद्यपि आइसिसीले पीसीबीको प्रस्तावमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छ वा छैन भन्ने पुष्टि हुन सकेको छैन । पाकिस्तानले विश्वकपअघि अफगानिस्तानविरुद्ध अभ्यास खेल खेल्नुपर्ने छ, तर उनीहरू आफ्नो अभ्यास खेल दक्षिण अफ्रिका, इंग्ल्यान्ड, न्युजिल्यान्ड वा अस्ट्रेलियाविरुद्ध होस् भन्ने चाहन्छन् ।
सामान्यतया सुरक्षाको कारण देखाउँदै आइसिसीको कार्यक्रम स्थल परिवर्तन गरिन्छ । उदाहरणका लागि सन् २०१६ को टी–२० विश्वकपमा भारत र पाकिस्तानबीचको खेल धर्मशालामा हुने तय भएको थियो तर सुरक्षाको कारण देखाउँदै कोलकाता सारिएको थियो । यद्यपि, पीसीबीको आन्तरिक पत्राचारमा कुनै पनि सुरक्षा कारण उल्लेख गरिएको छैन।
पाकिस्तान १५ अक्टोबरमा हुने भारत र पाकिस्तानबीचको खेलको स्थल पनि (अहमदाबाद) परिवर्तन गर्न चाहन्छ, तर उनीहरूलाई यो पनि थाहा छ कि यो सम्भव छैन।
'लखनउ हाम्रो लागि राम्रो विकल्प हुन सक्छ' पीसीबीको आन्तरिक पत्राचारमा भनिएको छ। यदि तेस्रो परिवर्तन भयो भने हामी चेन्नईमा हुने इंग्ल्यान्डविरुद्धको खेल लखनउमा सार्न चाहन्छौं । पीसीबीका अन्तरिम अध्यक्ष नजम सेठीले आफ्नो पदबाट राजीनामा दिनुअघि भनेका थिए, 'हामी आईसीसीले दिएको प्रस्तावित तालिकालाई स्वीकार गर्न वा अस्वीकार गर्न सक्दैनौं । यो हाम्रो सरकारले निर्णय गर्ने कुरा हो । '
बिसिसिआईले विश्वकप सुरु हुनुभन्दा १०० दिन अघि जुन २७ मा प्रतियोगिताको तालिका सार्वजनिक गर्न सक्ने विश्वास गरिएको छ ।

टिप्पणी लेख्नुहोस्