लेख विवरण

पार्वती र श्रद्धा फाइनलमा

पार्वती र श्रद्धा फाइनलमा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) की पार्वती राई र नेपाल टेलिकमकी श्रद्धा मानन्धर १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा पार्वतीले नेपाल विद्युत प्राधिकरणकी अम्बि सापकोटा तथा श्रद्धाले नागरिक लगानी कोषकी मौसमी राईलाई समान २–० को नतिजामा पराजित गरे ।

महिला डबल्समा कोषका मौसमी र कोमल रायमाझी तथा विद्युतका अम्बिा र सविना तामाङको जोडीले स्वर्ण भिडन्त पक्का गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी प्रतियोगिताको पुरुष सिंगल्समा कृषि विकास बैंकका टक्कर कुँवर, टेलिकमका सुरेन्द्रसिंह कार्की तथा विद्युतका भुपेन्द्र बिसी र श्याम महर्जन सेमिफाइनलमा पुगे । पुरुष डबल्समा मुक्तिनाथ विकास बैंकका थानेश्वर अर्याल र प्रेम थापा, टेलिकमका सुरेन्द्रसिंह कार्की र हरिकृष्ण शर्मा, विद्युतका राजु महर्जन र खगेन्द्र शाही तथा कृषिका राजकुमार निरौला र विनय पाण्डेको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा विद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जन, विद्युतका शंकर क्षेत्री र चन्द्रदास कारन्जित, टेलिकमका सुजित मल्ल र सीताराम श्रेष्ठ तथा नेपाल एयरलाइन्सका श्याम भट्ट र जंगबहादुर चन्दको जोडीले सेमिफाइनल यात्रा तय गरे । पुरुष एक्जिक्युटिभ डबल्समा टेलिकमका सुजित मल्ल र सीताराम श्रेष्ठ, विद्युतका उमेश भण्डारी र रामु श्रेष्ठ, नागरिक लगानी कोषका रमन नेपाल र पुरुषोत्तम पौडेल तथा टेलिकमका सुरेन्द्रसिंह कार्की र राजेन्द्र श्रेष्ठको जोडी सेमिफाइनलमा पुग्न सफल भए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.