पिएम कप एकदिवसीय क्रिकेट : कर्णाली बिरुद्ध गण्डकी प्रदेश विजयी
काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश विजयी भएको छ । टियु क्रिकेट मैदानमा भएको प्रतियोगिताको सातौंं खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३२ रनले पराजित गरेको छ । कर्णालीका हिमांशु शाहीको ११६ बलमा ६९ रनको अविजित पारी टोलीको जितका लागि पर्याप्त बन्न सकेन । गण्डकीका सुवास भण्डारी र चन्द्र पौडेलले समान ३/३ विकेट लिए । कप्तान बिपिन खत्रीले २ विकेट लिए । कमल परियार र अभिषेक बस्नेतको नाममा एक एक विकेट रह्यो ।
यसअघि टस हारेर ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गमाउदै २ सय ८ रन बनायो । गण्डकी प्रदेशका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका अभिषेक बस्नेतले ५१ रनको अर्धसतकीय पारी खेले । ओपनर अर्जुन कुमाल अर्धसतक बनाउनबाट एक रनले चुके । उनी ८८ बलमा ४९ रन बनाएर आउट भए । विकेट किपर बिधान श्रेष्ठले ४७ रन बनाए । सुवास भण्डारीले १४ रन बनाएर आउट भए । गण्डकीले २७ रन अत्तिरिक्तको रुपमा पायो ।
लक्ष्य पछ्याएको कर्णालीको टोली ४७ ओभरमा अलआउट भयो । टोलीका लागि हिमांशु शाहीले ११६ बलमा अविजित ६९ रन बनाए । कप्तान रवीन्द्र शाही (४२) र प्रकाश जैशी (१५) रनमा आउट भए ।
कात्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख रुपियाँ पुरस्कार प्रदान गरिने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पुग्ने दुई टोलीलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई २० हजार र इमर्जिङ प्लेयरलाई १० हजार रुपियाँ प्रदान गरिने पनि क्यानले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्