पिएम कप एकदिवसीय क्रिकेट : लुम्बिनी प्रदेश विजयी
काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश विजयी भएको छ । मुलपानी मैदानमा भएको प्रतियोगिताको आठौं खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । लुम्बिनीलाई जिताउन कप्तान देव खनालले अर्धसतकीय पारी खेले । उनले १ सय १९ बलमा ८ चौंका र २ छक्काको मद्दतले अविजित ७७ रन बनाए । विकेट किपर प्रज्ज्वोल थापा र सन्दीप राजालीले समान २९/२९ रन बनाए । बागमतीका लागि सुर्य तामाङ र ईशान पाण्डेले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमती निर्धारित ५० ओभरको खेलमा ३८.१ ओभर खेल्दै १ सय ५४ रनमा अलआउट भयो । टोलीका लागि कप्तान ज्ञानेन्द्र मल्ल (३३), दुर्गेश थापा (३२), आशुतोष घिरैया (२२), सुर्य तामाङ (१७) र प्रतिश जी.सीले (१५) रन बनाए । लुम्बिनीका लागि अनिल खरेलले ४ विकेट लिए । विशाल विक्रम केसी र अभिषेक गौतमले समान २२ विकेट लिए । कृष्ण कार्की र मोहम्मद हुसेनको नाममा एक एक विकेट रह्यो । खेलमा प्लेयर अफ द म्याचको अवार्ड ४ विकेट लिएका अनिल खरेल भए ।

टिप्पणी लेख्नुहोस्