पिएम कप महिला राष्ट्रिय क्रिकेट : गण्डकीलाई हराउदै सुदुरपश्चिम सेमिफाइनलमा
इटहरी । जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश लगातार दोस्रो जित निकाल्दै सेमिफाइल प्रवेश गरेको छ । इटहरी स्थित जनता क्रिकेट पार्कमा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा सुदुरपश्चिमले आज गण्डकी प्रदेशमाथि ८ विकेटको जित निकालेको हो । यो जित सँगै सुदुरपश्चिम एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ ।
गण्डकीले दिएको ६१ रनको लक्ष्य सुदुरपश्चिमले ११ ओभरमा १ विकेट गुमाउदै पुरा गर्यो । टोलीका लागि कप्तान तथा ओपनर बिन्दु रावलले अविजित ४६ रन बनाइन । ४३ बलको समाना गर्ने क्रममा उनले ८ चौंका प्रहार गरिन् । यशोदा बिष्ट २ रन बनाएर आउट हुँदा शोभा रोकाया ८ रनमा अविजित रहिन । गण्डकीका लागि निरुता जिटीले १ विकेट लिइन ।
यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै ६० रन बनायो । टोलीका लागि सिमना केसीले सर्वाधिक १३ रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन । सुदुरपश्चिम प्रदेशका लागि बलिङमा मनिषा चौधरीले सर्वाधिक ४ विकेट लिए । इश्वरी बिष्ट र स्नेहा महराले एक एक विकेट लिए । चार विकेट लिएकी मनिषा प्लेयर अफ द क्याच भइन् ।
प्रतियोगिता अन्तर्गत आज बिहान भएको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ९ रनले पराजित गरेको थियो । भोलीको खेल प्रदेश १ र सुदुरपश्चिम प्रदेश तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशबीच हुनेछ ।

टिप्पणी लेख्नुहोस्