पिएम कप राष्ट्रिय क्रिकेट : सुदुरपश्चिमले एपिएफलाई हरायो
इटहरी । प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमले बिभागिय टोली एपिएफ क्लबलाई ४ विकेटले पराजित गरेको छ । इटहरी स्थित जनता क्रिकेट पार्कमा जारी प्रतियोगितामा एपिएफले दिएको ९२ रनको लक्ष्य सुदुपश्चिमले १९.२ ओभरमा ६ विकेट गुमाउदै पुरा गर्यो । टोलीको जितमा डोली भट्टले सर्वाधिक ३३ रनको योगदान दिइन । रितु कनौजिया (१०), कविता कुँवर (२), कप्तान बिन्दु रावल (६), रुवि पोद्दार (६) र सम्झना खड्का (२) रन बनाएर आउट भए । कविता जोशी (७) र रेवती धामी (८) रनमा अविजित रहे । सुदुपश्चिमले १८ रन अतिरिक्तको रुपमा पायो । एपिएफका लागि नेरि थापाले ३ विकेट लिइन । सुमन बिष्ट, इन्दु बर्मा र सिता राणा मगरले समान एक एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै ९१ रन बनाएको थियो । टोलीका लागि ममता चौधरीले अविजित २६ रन बनाइन । रोमा थापा (१५), ज्योती पाण्डे (१४) र इन्दु बर्मा (११) रन बनाएर आउट भए । सुदुरपश्चिमका लागि बलिङमा खेलको प्लेयर अफ द म्याच बनेकी कविता जोशीले सर्वाधिक ३ विकेट लिइन । रितु कनौजियाले २ विकेट लिदा कविता कुँवर मनिषा चौधरीको नाममा एक एक विकेट रह्यो ।
जितसँगै ६ अंकका साथ सुदुरपश्चिम समुह ए को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ पनि सोही समुहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । मंगलवार (आज) भएको पहिलो खेलमा प्रदेश १ ले कर्णालीलाई १० विकेटले पराजित गरेको थियो ।

टिप्पणी लेख्नुहोस्