लेख विवरण

पीएम कप : एपीएफले आर्मी क्लबलाई ५६ रनले हरायो

पीएम कप : एपीएफले आर्मी क्लबलाई ५६ रनले हरायो

काठमाडौं । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हरायो ।

एपीएफले दिएको दुई सय २० रनको विजय लक्ष्य पछ्याएको आर्मी ३२.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६३ रनमा समेटिएको थियो । आर्मीका लागि हरि चौहानले ६५ र रोहित पौडेलले ५१ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरै अङ्कमा रन बनाउन सकेनन ।

बलिङमा एपीएफका अमर सिंह रौटेलाले चार विकेट लिए । कमल ऐरीले तीन तथा किशोर महतोले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७.४ ओभरमा सबै विकेट गुमाएर दुई सय १९ रन बनाएको थियो ।

एपीएफका लागि प्रदिप ऐरीले ७१ र सन्दीप जोराले ५० रन बनाए । भुवन कार्कीले २६, कप्तान शरद भेषवाकरले १६ र अमर रौटेलाले अविजित १० रन बनाए । बलिङमा आर्मीका विक्रम सोबले चार विकेट लिए ।

साहब आलम र कुशल मल्लले दुई दुई विकेट लिए । जितसँगै समूह ‘ए’ मा रहेको एपीएफले दुई अङ्क बनाएको छ । आर्मीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । कात्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहेको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.